भदौ ४, पर्सा, जिल्ला प्रहरी कार्यालय पर्साले वीरगन्ज महानगरपालिका–१५ स्थित प्रतिमा चोकबाट भन्सार छली चोरी पैठारी गरी ल्याइएका कस्मेटिक सामानसहित एउटा पिकअप गाडी र चालकलाई नियन्त्रणमा लिएको छ।
प्रहरीका अनुसार ४ गते बिहान १०:०० बजे विशेष सूचनाका आधारमा खटिएको प्रहरी टोलीले बागमती प्रदेश ०१-०३४ च ६९२८ नम्बरको टाटा योद्धा पिकअप रोकी जाँच गरेको थियो। जाँचका क्रममा गाडीभित्र भन्सार छली गरी ल्याइएका विभिन्न ब्रान्डका कस्मेटिक सामानहरू फेला परेका हुन्।
प्रहरीले सामानका प्याकेट तथा कार्टुन बाहिर दराज अनलाइन सपिङको होलोग्राम टाँसिएको र आवश्यक कागजात तथा प्रमाणपत्र नरहेको जनाएको छ। त्यसपछि गाडीका चालक सिराहा, धनगढीमाई नगरपालिका–९ बस्ने ५० वर्षीय श्यामबहादुर स्याङ्तानलाई नियन्त्रणमा लिइएको हो।
बरामद सामानमा Mima Earth Face Wash, MUUCHSTAC Ocean Face Wash, Niacinamide Daily Face Serum, Mima Earth Bright Suns Cream, Chemist at Play, Mima Earth Baby, Shadow, Double Trouble, Hybride Suns Cream, Lip Stay, Bright and Even Cream, Mellow, Minimalist Serum, Derma, Pilgrim लगायत विभिन्न ब्रान्डका कस्मेटिक सामग्री रहेका छन्। साथै विभिन्न ब्रान्डका १६ पोका सामान समेत बरामद गरिएको छ।
प्रहरीका अनुसार बरामद सामान तथा गाडीको अन्दाजी मूल्य रु. ९४ लाख ९१ हजार ५ सय ८८ रहेको छ।
नियन्त्रणमा लिइएका चालक तथा बरामद सामानलाई थप अनुसन्धान र आवश्यक कारबाहीका लागि वीरगन्ज भन्सार कार्यालयमा बुझाइएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ।
स्रोत: जिल्ला प्रहरी कार्यालय, पर्सा

