भारतको बिहारको वैशालीमा एउटा भयानक सडक दुर्घटना भएको छ । बुधबार सडक छेउमा रहेको ढाबामा तीव्र गतिको ट्रक ठोक्किँदा ५ जनाको मृत्यु भएको छ भने ७ जना घाइते भएका छन् । प्रहरीले जानकारी दिएको छ ।
दिउँसो १ बजेतिर पाटेपुर प्रहरी चौकी क्षेत्रको बहुराचोकमा घटना भएको उनले बताए । प्राप्त जानकारी अनुसार बुधबार दिउँसो मानिसहरु ढाबामा खाना खाइरहेका थिए । त्यसपछि तीव्र गतिमा रहेको ट्रक नियन्त्रण बाहिर गएको थियो । ट्रकले मोटरसाइकल र इ-रिक्सालाई ठक्कर दिँदा ढाबा भित्र पसेको थियो ।
उक्त दुर्घटनामा ट्रकले करिब १६ जनालाई ठक्कर दिएको थियो । ४ जनाको घटनास्थलमै मृत्यु भएको थियो । घाइतेहरुको अवस्था निकै गम्भीर रहेको बताइएको छ । दुर्घटना हुँदा ढाबाका केही कर्मचारी पनि उपस्थित थिए । प्रहरी र प्रशासनको टोली घटनास्थल पुगेर स्थिति नियन्त्रणमा लिन थालेको छ । जानकारीका अनुसार घटनापछि आक्रोशित मानिसहरूले ट्रक चालकलाई कुटपिट गरेका छन् । जसका कारण चालकको अवस्था पनि गम्भीर बनेको छ । दुर्घटनामा घाइते भएकाहरुलाई उपचारका लागि नजिकैको अस्पतालमा पठाइएको छ ।