बलिउड अभिनेता जोन अब्राहम यतिबेला आफ्नो फिल्मलाई लिएर निकै चर्चामा छन् । जोनको बहुप्रतिक्षित चलचित्र ‘एक भिलेन रिटर्न’ को गीत र ट्रेलरलाई दर्शकले रुचाइरहेका छन् । हालै उनले फिल्म पठानको छायांकन सकेर अब आफ्नो अर्को फिल्मको तयारी सुरु गरेका छन् । जोन अब्राहमले आफ्नो अर्को फिल्म तेहरानको सुटिङ सुरु गरिसकेका छन् । उनले आफ्नो इन्स्टाग्राम मार्फत यो जानकारी दिएका हुन् ।
जोन अब्राहमले आज बिहान आफ्नो नयाँ फिल्म तेहरानको सुटिङको घोषणा सामाजिक सञ्जालमार्फत गरेका छन् । इन्स्टाग्राममा फिल्मको फर्स्ट लुक सेयर गर्दै जोन अब्राहमले लेखे, ‘गणतन्त्र दिवस २०२३ को लागि तयार हुनुहोस् । मेरो अर्को फिल्म ‘तेहरान’ हुनेछ जसलाई अरुण गोपालनले निर्देशन गर्नेछन् । यो फिल्मको फर्स्ट लुकमा जोन निकै आकर्षक देखिएका छन् । यो एक्सन थ्रिलर फिल्म सत्य घटनामा आधारित छ ।
विज्ञापन फिल्म बनाएका अरुण गोपालन यही फिल्मबाट फिल्म निर्देशनको दुनियाँमा पाइला राख्न लागेका छन् । यो फिल्म ‘बदलापुर’, ‘स्त्री’ र ‘मिमी’ जस्ता फिल्मका लागि परिचित दिनेश विजनले निर्माण गर्नेछन् भने रितेश शाह र आशिष प्रकाश वर्माले लेखेका छन् ।