You are currently viewing कुटपिटबाट श्रीमतीको मृत्यु, श्रीमान् पक्राउ

कुटपिटबाट श्रीमतीको मृत्यु, श्रीमान् पक्राउ

साउन २६, सप्तरी: श्रीमतीमाथि कुटपिट गरी गम्भीर घाइते बनाएको आरोपमा पक्राउ परेका सप्तरीका एक व्यक्तिमाथि कर्तव्य ज्यान मुद्दामा अनुसन्धान अघि बढाइएको छ। उपचारका क्रममा श्रीमतीको मृत्यु भएपछि यसअघि अभद्र व्यवहारसम्बन्धी रहेको मुद्दा कर्तव्य ज्यानतर्फ परिणत भएको हो।

जिल्ला प्रहरी कार्यालय, सप्तरीका अनुसार सप्तरीको सुरुङ्गा नगरपालिका–१, शिशवारी, मुसहरी टोलका ५६ वर्षीय कोसिया सदालाई घटनामा पक्राउ गरिएको हो। प्रहरीका अनुसार २०८३ साउन २० गते साँझ ६:०० बजे उनले मादक पदार्थ सेवन गरी आफ्नी श्रीमती अन्दाजी ५२ वर्षीया फूलकुमारी सदालाई कुटपिट गर्नुका साथै इँटाले टाउकोमा प्रहार गरेको सूचना प्राप्त भएको थियो।

घटनापछि प्रहरी टोलीले घाइते फूलकुमारीलाई उपचारका लागि प्रादेशिक अस्पताल, लहान, सिरहा पठाएको थियो। उपचारकै क्रममा २०८३ साउन २४ गते बिहान ३:३० बजे उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ।

घाइतेको मृत्यु भएपछि घटनामा पक्राउ परेका कोसिया सदाविरुद्ध कर्तव्य ज्यान मुद्दा चलाइएको छ। उनलाई सप्तरी जिल्ला अदालतबाट २०८३ साउन २४ गतेदेखि लागू हुने गरी थप १० दिनको म्याद लिई अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

स्रोत: जिल्ला प्रहरी कार्यालय, सप्तरी

Leave a Reply