राजस्थान रोयल्स र रोयल च्यालेन्जर्स बैंग्लोरबीचको खेलमा दिग्गज ब्याट्सम्यान विराट कोहलीको ब्याटिङमा शतकीय पारी खेलेको थियो ।
उनले आफ्नो आईपीएल करियरको आठौं शतक बनाए । तर विराटको यो शतकले आफ्नो टोलीलाई जित दिलाउन सकेन । यो हारसँगै उनको नाममा लज्जास्पद कीर्तिमान पनि दर्ता भएको छ ।
यो खेलमा विराट कोहलीले ७२ बलको सामना गर्दै अविजित १ सय १३ रन बनाएका थिए । यस क्रममा उनले १२ चौका र ४ छक्का प्रहार गरे । तर यो खेलमा उनको टोली ६ विकेटले पराजित भएको थियो ।
आईपीएलमा विराटले शतक बनाएको यो तेस्रो पटक हो र आरसीबीले खेल जित्न सकेन । योसँगै विराटको नाममा हारेको खेलमा सर्वाधिक शतक प्रहार गर्ने कीर्तिमान कायम भएको छ । यसअघि हारेको खेलमा कुनै पनि खेलाडीले ३ शतक बनाएका थिएनन् ।
यो शतकमा विराटले आईपीएलमा सबैभन्दा ढिलो शतक प्रहार गर्ने कीर्तिमानको पनि बराबरी गरेका छन् । उनले आईपीएल २००९ मा डेक्कन चार्जर्सविरुद्ध ६७ बलमा शतक प्रहार गर्ने मनिष पाण्डेको बराबरी गरेका थिए । मनिष पाण्डेले पनि रोयल च्यालेन्जर्स बैंगलोरका लागि मात्रै यो शतकीय इनिङ खेलेका थिए ।