बीरगंज, १२ पौष,
गोरखा जिल्लाबाट सरुवा भई पर्सा जिल्ला आउनुभएका नवआगन्तुक प्रमुख जिल्ला अधिकारी (सिडिओ) दिनेश सागर भुषालले आफू पर्सा जिल्लामा रहुञ्जेल लागूऔषध, महिला हिंसा र जातिय छुवाछुतप्रति शुन्य सहनशिलता देखाउने प्रतिवद्धता जाहेर गर्नुभएको छ ।
बिहिवार जिल्ला प्रशासन कार्यालयको कक्षमा आयोजित पर्सा जिल्लाका पत्रकारहरुसँगको भेटघाट कार्यक्रममा उक्त कुरा बताउनु भएको हो । सामाजिक परिवर्तनका लागि समाजका सबै कर्ताहरुले आआफ्नो स्थानबाट आआफ्नो भूमिका, दायित्व र जिम्मेवारी बुझेर इमानदारिताका साथ काम गर्नुपर्ने उनले सुझाव दिएका छन् ।
राष्ट्रको नीति निर्माण देखि नीति परिवर्तन गर्न सक्ने ठूलो शक्ति सञ्चारजगत र संचारकर्मिहरुसँग भएको र सो शक्तिलाई विकासको गतिका लागि सहि दिशा दिनुपर्ने कुरामा उनले जोड दिए ।
सुशासन, सामाजिक न्याय र संमृद्धि राष्ट्रका उद्देश्य रहेपनि आफू पनि एक कर्ता रहेको र आफ्नो जिम्मेवारी र कर्तव्य कठोरतापूर्वक निर्वाह गर्ने कुरा उनले सो अवसरमा बताएका छन् ।
प्रशासन कार्यालयबाट सम्पादन हुने नियमित कामहरु र गृहमन्त्रालयले तोकेको निश्चित जिम्मेवारीबाहेक आफू खुल्ला सिमा सम्बन्धि विषयहरु, सुरक्षा स्थिती र सेवाग्राहिलाई समयमा सेवादिने कार्य सम्पादन गर्ने लगायत अन्य कुराहरुमा विशेष चासो रहने कुरा बताए ।
पत्रकारहरुले उठाएका जिज्ञासाहरुलाई प्रजिअले सम्बोधन गरेका थिए भने सहायक जिल्ला अधिकारी शिव प्रसाद लम्सालले सहजिकरण गरेका थिए ।

फोटो: दिपेन्द्र कानु
