अफ्रिकी देश सेनेगलमा आइतबार दुईवटा बस एकआपसमा ठोक्किँदा कम्तिमा ४० जनाको मृत्यु भएको छ भने कैयौं घाइते भएका छन् । प्रहरीका अनुसार एउटा बसको टायर फुटेर नियन्त्रण बाहिर गएर अर्को बससँग ठोक्किएर दुर्घटना भएको हो ।
सेनेगलका राष्ट्रपति म्याकी सालले सडक दुर्घटनापछि तीन दिने राष्ट्रिय शोकको घोषणा गरेका छन्, स्थानीय सेनेगाली अधिकारीहरूलाई उद्धृत गर्दै एक समाचार एजेन्सीले जनाएको छ ।
उनले आफ्नो ट्वीटर एकाउन्टमा भनेका छन्, ‘आजको गनिबी (काफ्रिन क्षेत्र) मा भएको गम्भीर दुर्घटनापछि ४० जनाको ज्यान गएपछि मैले जनवरी ९ देखि ३ दिने राष्ट्रिय शोकको निर्णय गरेको छु ।
सडक सुरक्षा र सार्वजनिक यात्रु यातायातमा थप कडाइ गर्नेबारे निर्णय गर्न सोही मितिमा अन्तरमन्त्रालयीय परिषद्को बैठक बस्ने उनले बताए ।