जिल्ला रौतहट कटहरिया नगरपालिका वडा नम्बर ४ बहादुरपुर टोल बस्ने बाबुलाल बैठाको छोरा अन्दाजी ३१ वर्षको नसिब बैठा र सोहि वडा नम्बर ५ पानी ट्याङ्की बस्ने दरोगा साहको छोरा अन्दाजी ३६ वर्षको हरि शंकर साह सोनारलाई प्रहरीले पक्राउ गरेको छ ।
उक्त व्यक्तिहरु सोहि ठाउँमा बस्ने बतहु मिया मन्सुरीको छोरा अन्दाजी ७० वर्षको आलम मिया मन्सुरीलाई ललाई फकाई मदिरा सेवन गराई नियन्त्रणमा लिई निजको साथबाट जबरजस्ती नगद रु. ८२ हजार रकम खोसी लुटी भागेको थियो ।
खबर प्राप्त हुना साथ ईलाका प्रहरी कार्यालय कटहरिया, रौतहटबाट खटिएको प्रहरी टोलीले ती भागेका मानिसहरुलाई खोजतलास गर्दै जाने क्रममा जिल्ला रौतहट, कटहरिया नगरपालिका वडा नम्बर ५ स्थितबाट निज नसिब बैठा र हरि शंकर साह सोनारलाई नगद रु. ५९ हजार सहित नियन्त्रणमा लिइएको छ ।
निजहरुलाई नियन्त्रणमा लिई आवश्यक कार्वाहीको लागि ईलाका प्रहरी कार्यालय गरुडा, रौतहटमा लगी चोरी तथा डाँका सम्बन्धि कसूरमा थप अनुसन्धान भइरहेको कुरा जिल्ला प्रहरी कार्यालय, रौतहटले जनाएको छ ।