लकडाउनका बेला प्रेस काउन्सिलले पत्रकारका लागि गरेको ५ जान्नै पर्ने महत्वपूर्ण निर्णय

0
59

काठमाण्डौ, चैत्र २३,

आज आइतबार बसेको प्रेस काउन्सिल नेपालको बोर्ड बैठकले नोबेल कोरोना भाइरस (COVID-19) संक्रमणको अत्यन्तै कष्टकर अवस्थामा नेपाली पत्रकार र आमसञ्चारमाध्यमले खेलेको भूमिकाको उच्च प्रशंसा गर्दै यस संक्रमणबाट जोगिन सरकारले गरेको लकडाउनपछि नेपाली आमसञ्चारमाध्यमले खप्नुपरेको चरम पीडाको समीक्षा गरेको छ ।

अग्रभागमा रहेर खट्ने देशैभरका सञ्चारकर्मी, जटिल अवस्थामा पनि मिडिया सञ्चालन गरी सत्य–तथ्य प्रवाह गर्ने सम्पादक, सञ्चालकलगायत सबैमा सुरक्षित रहेर पत्रकार आचारसंहिता पालना गरी कोरोना संक्रमण नियन्त्रणका लागि जनचेतनामूलक सामग्री प्रवाह गर्न सम्पूर्ण पत्रकार र सञ्चारकर्मीलाई अपील गरेको छ ।

प्रेस काउन्सिल ऐन, २०४८ को दफा ७ (क) र (ग) मा पत्रकारिताको विकासका लागि सरकारलाई सुझाव दिने काम, कर्तव्य र अधिकार रहेको सन्दर्भमा वर्तमान संकटपूर्ण अवस्थामा सम्पूर्ण पत्रकार र आमसञ्चारमाध्यमलाई विश्वसनीय, वस्तुनिष्ठ, सन्तुलित, मर्यादित एवं सत्यतथ्यपूर्ण सूचना तथा समाचार–सामग्री सम्प्रेषण गर्न अपीलसहित ५ महत्वपूर्ण निर्णयहरु सह–प्रशासकीय अधिकृत दीपक खनाल द्वारा हस्ताक्षरित प्रेस विज्ञप्ति मार्फत सार्वजनिक गरेको छ ।

क) कोरोना भाइरसको संक्रमण नियन्त्रणका लागि सबै प्रकारका सञ्चारमाध्यमबाट सन्देशमूलक सूचना सामग्री र कार्यक्रम प्रकाशन-प्रसारण गर्न स्वास्थ्य मन्त्रालय, संघ-प्रदेश र स्थानीय सरकारबाट आवश्यक सहकार्य र बजेट व्यवस्था हुनुपर्ने, सोको निम्ति सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले समन्वय गरिदिने ।

ख) संकटपूर्ण अवस्थाका सञ्चारमाध्यमको लागि विद्युत, टेलिफोन, इन्टरनेटसहितका सञ्चार सामग्रीमा छुट र अनुदानको व्यवस्था गर्नुपर्ने ।

ग) लकडाउन अवधिमा सार्वजनिक आवतजावत बन्द हुनुका साथै वितरण गर्ने, सम्पादन, व्यवस्थापन समूह एक ठाउँमा जुट्न नसक्ने, छापाखानामा प्राविधिकहरू नआउने अवस्था हुँदा प्रकाशन अवरुद्ध पत्रपत्रिकाको हकमा लोककल्याणकारी विज्ञापन भुक्तानी र वर्गीकरणका लागि यस अवधिमा अङ्क नपुगे पनि भुक्तानी र वर्गीकरणको नीतिगत निर्णय हुनुपर्ने ।

घ) कोरोना संक्रमण नियन्त्रणको लागि प्रभावकारी रुपमा लोककल्याणकारी विज्ञापनका नमूना बनाई आमसञ्चारमाध्यममा प्रचार-प्रसारको व्यवस्था मिलाउनुपर्ने ।

ङ) नेपालको अन्तर्राष्ट्रिय सीमासहित जोखिमपूर्ण क्षेत्रबाट समाचार सम्प्रेषणमा संलग्न सञ्चारकर्मीका निम्ति स्वास्थ्य सुरक्षासम्बन्धी सामग्री अविलम्ब उपलब्ध गराइनुपर्ने ।

Source: Press Council Nepal

Previous articleखुसीको खबर: मुसामाथि कोरोना औषधिको पहिलो परीक्षण सफल, भ्याक्सिनको नाम पिट्कोवैक
Next article‘दादागिरी गरेर बीरगंजलाई कोरोना एपिसेन्टर बनाउन लागेको भन्दै चिन्ता र विरोध’: दिपेन्द्र कानू