You are currently viewing बीमनपाले नै व्यवस्थापन गर्न सक्छ कि ?

बीमनपाले नै व्यवस्थापन गर्न सक्छ कि ?

बीरगञ्ज महानगरपालिका (बीमनपा)ले शहरलाई हराभरा र सफा सुन्दर बनाउन कुनै कसर बाँकी राखेको छैन । शहरलाई फोहरमैलारहित बनाउन गरिएको प्रयास सराहनिय छ तर सौन्दर्यकरण र सरसफाइलाई मात्र ध्यानमा राख्दा अरु महत्वपूर्ण  चिजहरु ध्यानबाहिर जान सक्छ कि ? त्यसैले केहि कुरालाई मध्यनजर गर्दा अरु चीजहरु पनि सँगसँगै व्यवस्थित हुँदै जान सक्छ ।

ई–रिक्शा व्यवस्थापनः
मान्छेले तान्ने रिक्शाहरुको ठाउँमा ई–रिक्शाहरु ह्वात्त बढेको जताततै सहजै देख्न सकिन्छ । पुराना डिजल र पेट्रोलले चल्ने टेम्पोहरु हुँदाहुँदै ई–रिक्शा ठूलो संख्यामा बढ्नु र बजारमा टिक्नुले यसको नितान्त आवश्यकता छ भन्न सकिन्छ तर सबै साना सवारिसाधन प्रायः बढी चल्लने रुटमा नै गुड्ने भएकोले ती रुटका मानिसहरुका लागि सहज भए पनि व्यवस्थित नभएकोले गर्दा अरु रुटमा मानिसहरुलाई असहज परिस्थितिको सामना गर्नु परिरहेको वास्तविकतालाई नकार्न सकिन्दैन ।

जुन किसिमले बीरगञ्जलाई पर्यटकिय गन्तव्यको रुपमा विकिसित गर्ने सोचले मद्दत गरिरहेको छ, त्यसैसँग यदि ई–रिक्शा, नगर बस, टेम्पु, आदिलाई एउटा रुट र रुट संख्यामा मिलाएर सञ्चालन गर्ने हो भने आन्तरिक पर्यटनलाई टेवा पुर्याउनुका साथै स्थानिय व्यापार–व्यवसायलाई पनि चलायमान पार्न सकिन्थ्यो ।

रक्सौल देखि घण्टाघर र घण्टाघर देखि भेडियाहि र गण्डक चोक सम्म मात्र बीरगञ्ज हो र ? किनकी यहि रुटमा आवश्यकताको अध्ययनबिना संख्यात्मकरुपले बढी ई–रिक्शाहरु गुड्ने गरेका छन् । अरु रुटमा जानलाई कुनै निश्चित रुट संख्या तोकेको, निश्चित स्थान र निश्चित दरभाडा छैन । जसले गर्दा त्यो रुटमा यात्रागर्ने यात्रुहरुले हदैसम्मको सास्ती भोग्दै आइरहेका छन् । चुनाव अगाडि विभिन्न सपना देखाएर सत्तामा आएका गाडि चढ्ने उच्च ओहदाका मान्छेलाई सामान्य यात्रुहरुको सहजतालाई विचारगर्ने फुर्सद कहाँ छ र ?

नगरबस व्यवस्थापनः
तयारीबिना लगभग पूरै बीरगञ्जलाई छुने गरी नगरबस चलाउन हाल सम्भव नहोला तर यसको व्यवस्थापनको अध्ययन थाल्ने बेला भएको छैन र ? पूरै बीरगञ्ज र यसको आसपासको क्षेत्रहरुको अध्ययन गरी हालका लागि अप र डाउन (आउजाउ) गर्न निश्चित समय र दरभाडा कायम गर्ने हो भने कुनै निश्चित स्थानमा मानिसहरु ढुक्क भई आउजाउ गर्न सहज व्यवस्थापन गर्न सकिन्छ । नगरबस उपलब्ध नहुञ्जेल सम्म ई–रिक्शालाई नै प्रयोगको रुपमा हेर्न सकिन्छ ।

उदयपुर घुर्मिका मानिसलाई भाटभटेनी घुम्न मन लाग्यो भने त्यो रुटमा कुनै निश्चित समयमा आउजाउ गर्न कुनै साधन छ त ? यसरी विभिन्न रुटमा ५/५ वटा सवारीसाधन छुट्याउने हो भने भ्याइ नभ्याइ कमाइ हुनुका साथै सर्वसाधारणहरुले पनि राहतको सास फेर्न सजिलो हुन्थ्यो होला । भारतका ठूला ठूला शहर घुम्न एक दिने भ्रमण प्याकेज बनाएका हुन्छन् । एउटा निश्चित समय र स्थानबाट पिक गर्छन् र खाना, नास्ता, घुमाई, किनमेल, आराम, आदि गराइसकेपछि बेलुकि एक निश्चित स्थानमा ड्रप गर्दछन् । यतातिर पनि अध्ययन गर्न सकिन्छ कि ?

टांगा व्यवस्थापनः
हालको अवस्थामा टांगा लुप्त अवस्थामा गइरहेको छ । एक निश्चित स्थान देखि अर्को स्थान सम्म टांगा, घोडा सवार, बग्गी सवार (दुई वा चार घोडा लगाएको गाडा) आदि लगाएर पनि आन्तरिक देखि बाह्य पर्यटकहरुलाई आकर्षित गर्न सकिन्छ । नेपालका प्रमुख हिमाली तथा पहाडि शहरहरु जस्तै काठमाण्डौ, पोखरा, तथा भारत लगायत तेस्रो मुलुकबाट बीरगञ्ज प्रयोग गरी यात्रागर्ने यात्रुहरुलाई यतातिर मोहित गर्न सकिन्छ । भारतको कोलकोता, दिल्ली लगायत अनेकौ स्थानबाट बीरगञ्ज भई नेपाल आएका पर्यटकहरुलाई टांगा सवारी गर्न आकर्षित गर्न सकिन्छ ।

बीरगञ्जमा यस पेशालाई अलि मर्यादित, व्यवस्थित तथा आधुनिकिकरण गर्न पनि नितान्त आवश्यक छ । त्यस्तो हुने हो भने यसले बडो राम्रो बजार लिन सक्छ । यस पेशाले बीरगञ्जलाई एउटा छुट्टै पहिचान पनि दिन सक्छ । बाहिरबाट उन्नत जातको घोडा प्रयोग गरी टांगा, घोडा र बग्गी आदिलाई सौन्दर्यकरण गर्नुका साथै त्यसको प्रचारप्रसारमा जोड दिन पनि सकिन्छ । त्यसका चालकहरुलाई पनि प्रशिक्षित गर्नुका साथै बीरगञ्ज शहरको भौगोलिक तथा एतिहासिक महत्वका कुराहरुको ज्ञान भएको, सफा सुघर, नम्र बोलि व्यवहार, सफा कपडा र इमानदार पनि हुनुपर्छ । नियम प्रकृया पुर्याई विधिवतरुपले दर्ता गराएका सवारिधनी तथा प्रशिक्षित चालकहरुलाई नियुक्त गरेर मात्र यो पेशा सञ्चालन गर्न अनुमति दिन सकिन्छ ।

मुम्बइमा समुंद्रको एक किनारमा गरेको यो व्यवसायले पर्यटन क्षेत्रमा ठूलो टेवा पुर्याएको छ । टांगा, घोडा र बग्गीको लागि मात्र पनि ठूलो संख्यामा मानिसहरु त्यहाँ पुग्ने गरेका हुन्छन् । बेलुकितिर सडकका प्रकाशमा यसको सवारी गर्नुले छुट्टै आनन्द दिन्छ ।

एम्बुलेन्स व्यवस्थापनः
त्यसैगरी एम्बुलेन्स सेवालाई व्यवस्थित गर्न आवश्यक छ । एम्बुलेन्स सेवाको लागि भनेरै राज्यले सम्बन्धित स्वास्थ्य संघसंस्थाहरुलाई टैक्सवापत करोडौ रुपैया भन्सार छुट दिएको भएपनि समयमा एम्बुलेन्स सेवा उपलब्ध नभएरै सयौ मानिसहरुको ज्यान जाने गरेको पाइएको छ । दुर्घटनामा परेका मान्छेको एकएक मिनेटको मोल हुन्छ । एकएक मिनेट आफ्नो सासको लागि संर्घष गरिरहेको हुन्छ । दुःख र पिडाले रोइचिच्याइ रहेको हुन्छ । रगत खेर गएर बाँच्न गाह्रो भइरहेको हुन्छ । सहि समयमा सूचना र जानकारि नपाएरै अनाहकमा धेरै ज्यान गइरहेको घटनाहरु देख्न र सुन्न पाइन्छ । एउटा भनाइ छ ‘बिहेपछिको पोते ।’ बिरामीको अवस्था बिग्रेपछि डाक्टर, नर्स वा स्वास्थकर्मीबिनाको एम्बुलेन्स पुगेर के नै हुन सक्छ र ? फोन गरेको एक घण्टा बढि ढिलो पुगेर कसैको ज्यान गयो भने चालकलाई हत्याको आरोप लाग्न सक्छ ? नाजुक अवस्थाको बिरामीलाई दुर्घटनास्थलमै प्राथमीक उपचार त के दर्दको औषद्यी वा स्ट्रेचरसमेत दिन नसकिने हाम्रो एम्बुलेन्स सेवा वा प्रशिक्षित चालक कुन युगमा छ ।

कुन संस्था वा स्वास्थ्य सेवा संस्थासँग के कस्तो अवस्थामा कति एम्बुलेन्स छ त्यसको सहि तथ्याङ्क को सँग उपलब्ध छ ? कुन एम्बुलेन्स चालु वा पूर्ण बन्द वा बिग्रेको अवस्थामा छ ? ड्राइभरको ड्यूटि अवस्था के छ कहाँ छ ? त्यस्को यकिन तथ्याङ्क दैनिकरुपले कसले राख्ने गरेको छ ? दुर्घटना भएर कसैले फोन गरेको केही समयमा एम्बुलेन्स पुगेको कुनै उदाहरण छ ? उनीहरुले ग्राहकसँग  के कति शुल्क उठाउँछन् ? एम्बुलेन्स सेवा प्रदायक संस्थाहरुसँग पनि चालक र एम्बुलेन्सको यकिन दैनिक तथ्याङ्क नहोला ।

ठूलाठूला शहरमा टैक्सी सेवा कुन एप वा प्रविधिको प्रयोग गरेर छिटो छरितो उपलब्ध गराइन्छ त्यसलाई अनुशरण वा छुट्टै एप बनाएर व्यवस्थापन गर्न सकिन्छ । एम्बुलेन्स सेवा छिटोछरितो तरिकाले उपलब्ध गराउन एम्बुलेन्स भएका स्वास्थ्य संस्थाहरु दुरिको आधारमा सबैभन्दा नजिक पर्नेले सो सेवा उपलब्ध गराउने र विरामीको आर्थिक र शारीरिक अवस्था हेरेर परिवारिक सदस्यको सहमतिमा मात्र भनेको अस्पताल वा सरकारी अस्पताल पुर्याउने कार्य गर्नुपर्छ किनभने कमिशनको चक्करमा उनीहरुले आफूखुशि कुनै निश्चित अस्पतालमा पुर्याउने गरेको आरोप पनि लाग्ने गरेको पाइएको छ ।

यसरी ई–रिक्शा, नगरबस, टांगा, एम्बुलेन्स आदिको व्यवस्थापनको जिम्मेवारी अरु निकायहरुसँग समन्वय गरी बीरगञ्ज महानगरपालिकाले नेतृत्व लिनुपर्ने देखिन्छ ।

– दिपेन्द्रप्रसाद कानू, बीरगञ्ज, पर्सा

फोटोहरु गुगलको मद्दतले सङ्कलन गरिएको

Leave a Reply