Home Nepali Blogs ‘मधेशः हिजो र आजका केहि जल्दाबल्दा मुद्दाहरु’ — शुशिल भट्टराई

‘मधेशः हिजो र आजका केहि जल्दाबल्दा मुद्दाहरु’ — शुशिल भट्टराई

0
‘मधेशः हिजो र आजका केहि जल्दाबल्दा मुद्दाहरु’ — शुशिल भट्टराई

सम्पूर्ण मधेशको आवश्यक्ता र मधेशी जनताको चाहना अनुरुप विभिन्न वाधा र अवरोधलाई पन्छाउँदै सम्पूर्ण मधेशवादि पार्टिहरु एक ढिका हुने सहमतिकासाथ पार्टि एकिकरण गरी नयाँ पार्टि “जनता समाजवादी पार्टि”को नामले एकिकरण भएपश्चात नेपालको राजनीतिमा एउटा नयाँ तरङ्ग छाएको छ । एकातिर मधेशका जनताले पुनः एउटा ताजगि प्राप्त गरेको अनुभव गरेका छन् भने अर्कोतिर फेरि पनि स्वभाविकरुपले नयाँ आशाहरु पलाएका छन् । एकिकरण पछि मधेशवादि पार्टिलाई हेर्ने दृष्टिकोण पनि फरक हुन पुगेको छ र जनताको मन मस्तीष्कमा त्यसले एउटा शालिनता र उचाइ प्राप्त गर्न सफल भएको छर्ललङ्गै देखिएको छ ।

सबैको उद्देश्य र गन्तव्य एक भइसके पछि काम गर्ने सच्चा र इमानदार कार्यकर्तालाई पार्टिमा पदले कुनै महत्वपूर्ण हैसियत राख्दैन । यसको ज्वलन्त उदाहरण डा.बाबुराम भट्टराईले कुर्सिको लोभलाई त्यागेर व्यवहारमा देखाइसकेका छन् । पदिय लालच नभएकोले मधेशी राजनीतिक ध्रुविकरणमा आज वहाँको उचाई सबैभन्दा माथि देखिएको छ । आज राष्ट्र तथा अन्तराष्ट्रस्तरको राजनीतिमा चर्चाको मुख्य केन्द्रविन्दु पनि उनको यहि निस्वार्थ भावना उदाहरणिय बन्न पुगेको छ । पार्टि एकिकरण गर्ने बेला शायद वहाँले यो उदारता नदेखाएको भए एकिकरणमा निकै ठूलो सकस हुन सक्थ्यो र पार्टि पुनः गुटबन्दिको शिकार बन्न पुग्थ्यो ।

अब मधेशवादी दल नेपालकै तेस्रो शक्तिशालि पार्टिको रुप धारण गरिसकेको छ । साथसाथै यस पार्टिको जनता प्रतिको उत्तरदायित्व पनि बढेको छ । पार्टि एकिकरण पश्चात पार्टिले कुशल सारथीको रुपमा महन्थ ठाकुर जी तथा उपेन्द्र यादव जी जस्ता दुई पार्टि अध्यक्ष पनि पाएको छ ।

एकातिर एकिकरण भएको नयाँ पार्टिको अध्यक्ष महन्त ठाकुरजी को राजनीतिक पृष्ठभूमि नेपालको राजनीतिमा धेरै पुरानो छ । वहाँले नेपालको राजनीतिमा धेरै महत्वपूर्ण पदहरुमा बसेर नेपाल र नेपालको राजनीतिक वातावरणलाई धेरै नजिकबाट नियाल्नुका साथै एउटा अनुभवि र शालिन नेताको रुपमा नेपालको राजनीतिक पृष्ठभूमिमा चिनिनु हुन्छ भने अर्कोतिर जनता समाजवादी पार्टिले अर्को अध्यक्षको रुपमा उपेन्द यादव जीलाई प्राप्त गरेको छ । वास्तवमा नेपालको राजनैतिक ध्रुविकरणमा वहाँ एउटा आशलाग्दो नेताको रुपमा चिनिनु भएको छ । एउटा सानो क्षेत्रिय पार्टिको जग निर्माण गर्दागर्दै वहाँले केवल मधेश र मधेशी समाजको विभेदको कुरालाई मात्र उत्थान नगरी सम्पूर्ण नेपालीहरुको आवाज भई विभिन्न विकृती कुरिती, पिछडापन आदिवासी जनजाति, खस ब्राम्हण आदिको पनि आवाज बन्दै ती सबैको समान विकास हुनुपर्छ, कसैले कसैलाई विभेद गर्नु हुँदैन, कसैले कसैबाट शोषित र पिडित हुनु हुँदैन भनी आवाज उठाई मधेशसँग मात्र नभई सिङ्गो राष्ट्रसँग सम्बन्धित मुद्दाहरुलाई जोडदाररुपले उठाउनु भयो । फलस्वरुप ती मुद्दाहरुलाई नितान्त आवश्यक र सम्भव मान्दै नेपालका राष्ट्रियस्तरका ठूला राजनैतिक हस्तीहरु वहाँसँग एउटै पार्टिमा सम्मिलित भएको अवस्था छ । वहाँको प्रगतिशिल विचार तथा आदर्शवादि शिद्धान्तहरुबाट प्रेरित तथा प्रतिपादित भएको पार्टिलाई मलजल हाली आज राष्ट्रकै शक्तिशालि पार्टिको रुपमा मजबुत जग निमार्ण गराउन सफल भएका छन् ।

साँच्चै भन्नुपर्दा नेपालको राजनीतिमा जुन किसिमले उपेन्द्र यादवजीले विचार र चिन्तन प्रस्तुत गर्नुहुन्छ त्यो वास्तवमै तारिफ गर्न लायक हुन्छ । नेपालको राजनीतिमा लामो समय देखि शासन गर्दै आइरहेका नेपाली काँग्रेस, एमाले, माओवादी, राष्ट्र प्रजातन्त्र पार्टि लगायतका थुप्रै पार्टिको शासकहरुले जुन किसिमले मधेश र मधेशी जनतालाई अधिकारबाट वंचित गर्नुका साथै विभेदमा पारेर बषौं सम्म शोषण गरेका थिए । यी सबै कुराहरुलाई बुझी मधेश र मधेशी जनताको आवाज बनी तथाकथित पहाडे शासकप्रति ठूलो आन्दोलन गरे र सम्पूर्ण मधेशका जनताले पूर्णरुपले साथ दिए । परिणामस्वरुप उनको विचार र चिन्तनको विजय भयो । उनले स्थापना गरेको पार्टि शक्तिशालि पार्टि बन्यो र आज नेपालकै तेस्रो ठूलो पार्टिको रुप लिन पुगेको छ ।

निरन्तर संघर्षको परिणामस्वरुप सम्पूर्ण मधेशवादि दल एकसुत्रमा बाँधिएर एकिकृत भएका छन् । अब मधेशी लगायत सम्पूर्ण शोषित, पिडित जनताको आवाज बन्न सफल बन्ने छ भनी ठूलो आशा बोकेर सम्पूर्ण शोषित जनता पार्टि एकिकरण पश्चात खुशियाली पनि साटासाट गरेका छन् ।

विगत र वर्तमान अवस्थालाई वास्तविकरुपले विश्लेषण गर्ने हो भने यस अघिसम्म मधेशमा रहेका सम्पूर्ण जनताको आशामा तुषारोपात परिरहेको अवस्था छ किनकी हिजोका तथाकथित पाहाडे शासकबाट शोषित मधेश आज आफ्नै शासकबाट शोषित बन्न पुगेका छन् । मधेश आन्दोलनबाट बलियो बन्दै स्थापित भएका पार्टिका तर्फ बाट पटक–पटक प्रतिनिधित्व गर्दै विभिन्न मधेशी शासकहरु नेपालका विभिन्न ठूलाठूला संवैधानिक पदहरु धारण नगरेका होइनन् । राजनीतिक उतारचढावका बीच सामान्य आर्थिक हैसियत भएका केही व्यक्तिहरुको सामाजिक र आर्थिक हैसियत निक्कै बढेको देखियो तर सम्पूर्ण मधेश र मधेशी जनता हिजो जहाँ थियो आज त्यहि रुकेको छ ।

मधेशको प्रतिनिधित्व गर्दै राष्ट्रपति जस्तो सम्मानित पदमा पुगे तर मधेशलाई केही उपलब्धि भएन । धेरै पल्ट उपप्रधान मन्त्रि सम्म बने तर मधेश र मधेशीलाई केही भएन । विभिन्न पटक स्वास्थ्य मन्त्रि बने तर मधेशमा एउटा पनि राष्ट्रस्तरको अस्पतालको निर्माण हुन सकेन । सञ्चारमन्त्रि बने तर मधेशमा सञ्चार सम्बन्धि त्यस्तो कुनै उल्लेखनिय विकाश भएको देख्न पाइएन । पटकपटक शिक्षा मन्त्रि भए तर मधेश मै शिक्षाको क्षेत्रमा दयनिय अवस्था रहेको तथ्याङ्क बाहिरिन पुग्यो । कृषि मन्त्रि पनि बने तर मधेशमा कृषि सम्बन्धि न कुनै उल्लेखनिय कार्य हुन सक्यो न त कुनै वैज्ञानिक पद्दति नै भित्रिन सक्यो । जसको शासनमा पनि किसानको अवस्था त झनझन नाजुक बन्दै गएको देखिएको छ । मधेशी पार्टिबाटै शहरी विकाश तथा भौतिक पूर्वाधार मन्त्रि समेत बने तर शहरी विकाशको कुनै शब्द सम्म पनि मधेशमा भित्रिन सकेन । परराष्ट्र मन्त्रि समेत बने तर मधेशलाई हेर्ने दृष्टिकोणमा कुनै परिवर्तन ल्याउन सकेन । विगतका तिता अनुभव तथा अविश्वासको वातावरणले मधेशी जनता खिन्न र निराश बनेका छन् । आफ्नो नियति नै यस्तै हो कि भनी ठानेका छन् । पहिला पहाडे शासकले ठगे र अहिले आफ्नै मधेशी शासकहरुले पनि ठगिरहेका छन् ।

नियतिको खेल कस्तो छ कि सम्पूर्ण नेपालका जनताले मधेश र मधेशी जनतालाई भारतिय हुन भन्ने दृष्टिकोणले हेर्ने तर भारतले चाहिं जतिपनि सहयोगहरु नेपाल कै पाहाडि भुभागहरुमा दिने गरेका छन् । न त मधेश भारतियको आँखामा छ, न त नेपाली शासकहरुको आँखामा । मधेश ठूलो विभेदमा परी छटपटाइ रहेको छ त्यसमाथि विश्वास गरी मधेशकै प्रतिनिधित्व गर्ने मधेशी समाजकै प्रतिनिधिहरुलाई पठाउँदा पनि मधेश र मधेशी जनताप्रति उत्तरदायी नभई आआफ्नै मोजमस्ती, सुख भोगमा व्यस्त भएको हालसम्म देखिएको छ ।

यता प्रदेश नम्बर २ मा मधेशवादी दलबाट स्थापित सरकार छ । ऊ पनि भ्रष्टाचारको चास्नीमा डुबेर अलमलमा परेको छ । मधेश र मधेशी जनताप्रति कुनै पनि जिम्मेवारीको वोध भान भएको देखिन्दैन । प्रदेश सरकार गठन भएको लगभग ३ वर्ष भइसक्यो तर प्रदेश सरकारबाट त्यस्तो कुनै विकाशका ठोस रणनीतिहरु तर्जुमा गरी कार्यान्वयन गरेको छैन । अहिले सम्म प्रदेश सरकारले गरेका कामहरु मध्ये चर्चा पाएको “बेटी बचाऊ, बेटी बढाऊ” कामले प्रदेशमा कतिको सार्थकता पायो भन्ने कुरा मधेशी जनताले नै बुझेका छन् होला ।

प्रदेश सरकारको योजना अन्तर्गत अहिले सम्म पनि कुनै ठोस कार्य भएको देखिएको छैन् । मुख्यमन्त्रिको योजनामा न कृषि क्षेत्रले, न शिक्षा क्षेत्रले, न त स्वास्थ्य क्षेत्रले नै प्रशय पाएको देखिन्छ । अहिले यो कोरोना महामारीको अवस्थामा प्रदेश सरकारको लाचारी मधेशका जनताको अगाडि छर्लङ्ग भइसकेको छ । सरकारबाट महामारीको नियन्त्रणका लागि राहत रकम प्रदेश सरकारलाई न आएको होइन तर प्रदेश सरकारले त्यो रकमलाई पनि उचित तरिकाले प्रयोग गर्न सकेको अवस्था छैन् । सदुपयोग गर्न नजानेको हो वा नियतमै खडेरी परेको हो जनताले प्रश्न त्यहाँ गर्न थालेका छन् । मधेशवादी दलसँग सम्बन्धित प्रदेश सभामा विजयी भएर गएका विधायकहरुको साथसाथै अन्य दलका मधेशी विधायकहरुको भूमिका पनि निक्कै लज्जास्पद देखिएको छ ।

अर्कोतर्फ मधेशी छोरीहरुलाई ठूलै नाराका साथ साइकल वितरण गरियो र केहीलाई त भैसी वितरण पनि गरियो । यो योजना आफैमा हाँस्य र लज्जापूर्ण छ किनकी हामीलाई साइकल किन्न सक्ने हैसियत बनाइदिने ठोस् योजनाको आवश्यकता छ न कि दयाको । मुख्यमन्त्रि मो. लालबाबुले देखासिकी गरेको भनिएको र ठूलो चर्चा पाएको स्वच्छता अभियान पनि योजनामै सिमित बन्न पुग्यो । पैसालाई बालुवामा जस्तै खन्याइयो तर यसको परिणाम व्यवहारमा दिर्घकालिन देखिएन । यसरी विकाश गर्ने ठोस योजना कुनै पनि देखिएन । बरु कार्यकर्ता पोस्ने र मिडियाबाजि गर्दै जनता भ्रमाउने कामहरु प्रति उत्साहित रहेको देखिएको छ ।

गाउँपालिका र नगरपालिकामा पनि मधेश दलसँग आवद्ध भई मधेश र मधेशीको आवाज बन्दै विजय भएका गाउँपालिकाका अध्यक्ष र मेयरहरुको भूमिका पनि जनताप्रति सराहनिय छैन् । नेपालमै भएका महानगरपालिका मध्ये बीरगंज महानगरपालिका पनि एक हो जसले मधेश दलको प्रतिनिधित्व प्राप्त गरेको छ । यस महानगरपालिकाले पनि मधेशको जनताको अभिभार बोकेको छ तर यहाँ पनि त्यहि लाचारी र लुछाचुडि कै अवस्था रहेको पाइन्छ र हरेक समूहबाट मेयरलाई लक्षित गर्दै प्रहार गरेको र मनोबल नै टुटाउने काम भएको देखिन्छ । आफ्नै पार्टिका मेयरको बारेमा आफ्नै पार्टिका विभिन्न प्रतिनिधिहरुबाट प्रहार भएको देखेर जनता आजित बन्दै गइरहेको छ ।

कारण जेसुकै होस स्थानिय जनता ती राजनीतिक कुराहरु भन्दा पनि आफ्नो व्यक्तिगत पारीवारिक जीवन र व्यवसायको बारेमा चिन्तित हुन्छ । शुरुवाति दिनमै केन्द्रिय र प्रादेशिक स्तरबाट हुनुपर्ने सहयोग न भएपछि वीरगंजका जनताले आफ्नै सुरक्षाको हेतु आफै तयार रहने गरी मेयरको अनुरोधमा स्वास्थ्य सामाग्रि किन्न जुन सहयोग जुटिरहेको छ त्यो आफैमा सराहनिय छ । जनताको स्वास्थसँग खेलवाड गर्ने जो कोहि लाई पनि तराईको भूमिमा घृणित र फोहरी राजनीतिक खेल खेल्न छुट छैन् । जनता हेरिरहेको छ ।

यो वास्तवमा मधेशी जनताको वास्तविकता हो । हामी आज पनि गुलाम छौं । पहिला पहिलाका मालिकहरुले गुलामहरुलाई जंजिरमा जकडेर कोर्रा हानेर काम गराउँथे । आज पनि हाम्रो मधेश शिक्षा, स्वास्थ्य, कृषि, उद्योग धन्दाको निकै अभावले गर्दा चाह–अनचाह विदेशी गुलाम बन्न बाध्य भइरहेका छौं । फरक यति मात्र हो हामीलाई जंजिरले बाँध्ने काम गरिन्दैन तर भिसा र पासपोर्ट जफत गरी आफूले चाहे जस्तो तरिकाले आफ्नो गुलामी गराउँछन् । मधेशी जनताले यो दाशता कहिले सम्म सहने ? पहाडे शासकको विरोधमा आन्दोलन गर्यौ, तपाईहरुलाई स्थापित गरायौं । हिजो मधेशका जनताहरु तपाई सँगसगै थिए तर आज तपाई राजा हुनुभयो र मधेशी जनताहरुलाई दुई छाक खान पनि धौधौ परी मधेशीका छोराछोरी तथा युवाहरु विदेशीको गुलाम बन्न वाध्य हुनु परिरहेको छ ।

मधेशी जनताको यस्तो पिडालाई निदान गर्न साच्चै मधेशी दल चाहन्छ भने पार्टिबाट जितेर गएका प्रतिनीधिहरुलाई होइन, बरु केन्द्रिय पार्टि र विभिन्न जिल्लामा रहेका जिल्ला समन्वय समितीहरुलाई शक्तिशालि बनाउन सक्नुपर्छ । अनुशासन कडा बनाउन सक्नुपर्छ, पार्टि कार्यालयले निर्देश गरेको कार्य निर्देशलाई पालना नगर्ने प्रतिनीधिहरुलाई कडा भन्दा कडा कारवाहि गर्न सक्ने हैसियत पनि निर्धारण गर्न सक्नुपर्छ । नत्र पार्टि बलियो र ठूलो भएर त्यसबाट उत्पति हुने प्रतिनीधिहरु भ्रष्ट र अत्याचारी हुँदै गएमा त्यसले समाजमा ठूलो विकृती र विसंगतिहरु जन्माउनेछ ।

— आलेख लेखक शुशिल भट्टराई ठाराब क्याम्पस, बीरगंज अध्यापन गराउनुका साथै सामाजिक तथा राजनितिक विषयमा कलम चलाउनु हुन्छ…

RSS280
Follow by Email220
Facebook1k
Twitter570
LinkedIn268
LinkedIn
Share
WhatsApp733