Home Nepali Blogs करोडपति श्री ३ सरकारहरु निमुखाहरुसँग ‘माछा माछा भ्यागुता’ खेल्दै: सुशिल भट्टराई

करोडपति श्री ३ सरकारहरु निमुखाहरुसँग ‘माछा माछा भ्यागुता’ खेल्दै: सुशिल भट्टराई

0
करोडपति श्री ३ सरकारहरु निमुखाहरुसँग ‘माछा माछा भ्यागुता’ खेल्दै: सुशिल भट्टराई

छोटो नगर-परीचयः

राणा प्रधानमन्त्री श्री ३ वीर शमशेर जङ्ग बहादुर राणाबाट नामाकरण गरीएको वीरगञ्ज र त्यसलाई जीवन्त तुल्याउने काममा सहयोग पुर्याउने सिद्धीविर माथेमा ज्यूलाई वीरगञ्ज र वीरगञ्जको इतिहासले कहिल्यै विर्सन सक्दैन । केहि साधारण व्यक्ति वा शासकहरुले जनताको मन जित्ने एतिहासीक काम गर्छन् भने केहिले आफ्नो पशुत्व प्रवृति देखाएर कलङ्क फैलाउने काम गर्ने गर्छन् । इतिहासले यी दुवै शासहरुलाई आफ्नो पानामा ठाउँ दिएकै हुन्छ ।

विभिन्न कालखण्डमा आआफ्नो क्षेत्रबाट योगदान दिएर बीरगञ्जलाई नेपालकै दोस्रो ठूलो आर्थिक नगरी र औद्योगीक कोरीडोरको रुपमा स्थापीत गराउँदै आजको रुपमा ल्याउने केही व्यक्तित्वहरु जस्तै केसर दास मानन्धर, पशुपतिनाथ घोष, गणेश शरण रावल, गोपालमान प्रधान, वीमल प्रसाद श्रीवास्तव, माधवलाल श्रेष्ठ, गोपाल गिरी र प्रदिप सुवेदीलाई सम्झनै पर्छ । वहाँहरुले शहरको शोभा र शालिनता बढाउनमा उल्लेखनिय योगदान गरेर बीरगञ्जको गौरवमय इतिहासको पानामा आफ्ना नाम दर्ज गर्न सफल भएका छन् । त्यहि क्रमलाई निरन्तरता दिँदै इतिहास रच्ने काममा वर्तमान मेयर विजय सरावगी ज्यू ज्यादै व्यस्त हुनुभएको जोकोहि सामाजिक सञ्जालमा देख्न सक्छ ।

वीरगंज एउटा त्यस्तो नगर हो जसले नेपालको हरेक आन्दोलनलाई बडो नजिकबाट अभुभव गरेर साक्षि बनेको छ । परिवर्तनका लागि गरिएका हरेक आन्दोलन तथा संघर्षलाई यहाँका जनताले बडो सक्रियता र इमानदारीकासाथ तन, मन, धनले साथ दिएर सफल बनाएको इतिहास गवाह छ । अझै भन्नु पर्दा मधेश आन्दोलनको समयमा केन्द्रविन्दु नै हुनुका साथै अनेकौले ज्यानको बलिदान दिएपश्चात मधेश आन्दोलनलाई उच्च शिखरमा पुर्याई सफल पार्न बीरगंज नगर र यहाँका जनताले ठूलो गुण लगाएको कुरा जोकोहिको दिमागमा ताजा नै होला । फरस्वरुप मधेशका सम्पूर्ण जनताले गर्वले हाम्रो मधेश र हामी मधेशी भन्ने वातावरण स्थापित गरेका छन् ।

पर्सा जिल्लाको छोटो प्रशासनीक परीचयः

पर्सा जिल्लाको प्रशासनीक विकासलाई हेर्ने हो भने वर्तमान परिस्थितीमा यस जिल्लामा बीरगंज महानगरपालिका सहित नयाँ तीनवटा नगरपालिकाहरु तथा ११ वटा गाउँपालिकाहरु छन् । नगरपालिकाहरुमा पोखरीया नगरपालिका, पर्सागढी नगरपालिका र बहुदरमाई नगरपालिका रहेका छन् ।

वर्षौको पर्खाइ पछि स्थानिय चुनावको नतिजाको साथ वीरगंज महानगरपालीकाको मेयरको रुपमा विजय सरावगी, पोखरीया नगरपालीकाबाट मेयर दिप नारायण रौनियार, बहुदरामाई नगरपालीकाबाट मेयर नितेन्द्र साह र पर्सागढी नगरपालिकाबाट लोक नारायण यादव लगायत विभिन्न गाविसबाट विभिन्न पार्टिका अनेकौ अध्यक्षहरुको नाम पनि जनताको अगाडि विजयी जनसेवकको रुपमा सार्वजनिक भए ।

निर्वाचित व्यक्तिहरुको नामावलिः

यसका साथै पर्सा जिल्ला क्षेत्र नं. १ बाट प्रदिप यादव, क्षेत्र नं. २ बाट विमल प्रसाद श्रीवास्तव, क्षेत्र नं. ३ बाट हरिनारायण प्रसाद रौनियार, क्षेत्र नं. ४ बाट लक्ष्मणलाल कर्ण र साथै समानुपातिक सांसदमा चाँद तारा, पुष्पा कर्ण हुनुहुन्छ । साथै विधायकमा समाजवादि पार्टि, नेपालका लालबाबु राउत गद्दी, जो अहिले प्रदेश नं. २ का मुख्यमन्त्रि पनि हुनुहुन्छ, थप जिम्मेवारीका साथ अगाडि आए ।

विधायकबाट विजयी हुने व्यक्तिहरुलाई चिन्नुहोस् : 

अगाडि आउनेमा जन्नत अंसारी, भिमा यादव, रागीनी वर्णवाल, प्रकाश शर्मा, अनिता यादव, राजेश्वर साह तेली, रमेश पटेल, करिमा बेगम, मन्जुर अंसारी, प्रल्हाद गिरी, सिंहासन साह कलवार, शंकर चौधरी आदि जस्ता व्यक्तिहरु पनि सफल भए ।

करिब डेढ दशक देखि पर्खिबसेका स्थानिय चुनावको परिणामबाट स्थानिय प्रतिनीधि पाएसँगै अब सहि अर्थमा गणतन्त्रको नौलो स्वाद चाख्न पाइएला भनी बिभेद हट्ला, आमूल परिवर्तनहरु आउला, शिक्षा, स्वास्थ्य, कृषि, कलकारखाना, उद्योग, व्यवसाय, विज्ञान तथा प्रविधि, आदिको क्षेत्रहरुमा विकासका कार्यहरुले द्रुत गति लेला, कसैको सोर्स पैरवि तथा घुसबीना घरै बसेर अनलाइनले सबै सरकारी कामहरुको सुविधा पाइएला, रोजगारी सृजना भई गरिबी निवारण होला, कोही भोको पेट सुत्नु नपर्ला, कोहि स्वास्थ्य सेवाबीना अकाल मर्नु नपर्ला, कोही अशिक्षित र बेरोजगार नरहला, अपराध, विभेद, भ्रष्टाचार आदि हट्ला, आफ्नो गाउँघरमा बुढाबुढी तथा बच्चाहरुलाई छाडेर युवाहरुको बिदेश जानुपर्ने बाध्यता नरहला जस्ता हजारौं सपनाहरु देखाएरै देशमा लामो राजतान्त्रिक व्यवस्थालाई उखेलेर गणतन्त्रको बाटोमा हिडाइएको हो । हिड्ने क्रममा बाटोमा जनतालाई बारम्बार धोका पनि दिइएको हो ।

कोरोना महामारीको कहरः

ठूलो आँधिपछि शान्त, सुन्दर र सामान्य जीवनमा फर्कदै गरेको वीरगंज नगर कोरोना भाइरसको महामारी आतङ्कले पूनः अशान्त, उथलपुथल र भयावह बनेको छ । यस भयावह परिस्थितिमा यहाँका सम्पूर्ण जनता त्रासको वातावरणमा आफ्नो जनजीवन यापन गर्न बाध्य छन् । यस त्रासमय वातावरणमा कतिपय जनताले आफ्नो व्यापार, जागीर र आफ्नो परिवार पनि गुमाउँदै जानुपर्ने अवस्था सृजना बन्दै गइरहेको छ । यस त्रासमय वातावरणलाई परास्त गर्दै सहज वातावरण बनाउनु पर्ने भूमिकामा पर्सा जिल्लाका सम्पूर्ण नेतृत्व पंक्तिहरु एकै लयमा एकै ठाउँमा उभिनु पर्नेमा त्यस्तो भूमिका कतैपनि देखिएको छैन । जिल्लाकै जनता विस्तारै रोग र भोकले ग्रसित बन्दै गइरहेका छन् । विस्तारै आर्थिक मन्दीको कारणले गर्दा स्थानिय व्यापारी र जनता आजित भई आज सडक आन्दोलन र संर्घषमा उत्रिसकेको अवस्था छ भने भोलि के हुने हो केही थाहा छैन । यस्तो भयावह परिस्थितिमा जनप्रतिनिधिहरुको भूमिका जनअपेक्षामा शुन्य रहेको देखिन्छ । नागरिक समाजको खबरदारी भूमिका पनि गौण बनेको छ ।

अव रोग र भोकको समस्याबाट निकास पाई यस पर्सा जिल्ला कसरी सामान्य जीवनतिर फर्किन्छ भन्ने कुरा सबै नागरिकको मनमष्तिस्कमा जरो गाड्दै गइरहेको अवस्था छ । पर्सा जील्लाका नेतृत्व पंक्तिमा बसेका प्रतिनीधिहरुको आपसि तालमेल र समन्यवयको कमिले गर्दा पुरै जिल्ला नै रोग, भोक, अन्योलता र त्रासको भुँमरीमा फस्दै गइरहेको छ । यस्तै वातावरण रहयो भने जिल्लाको सदरमुकाम वीरगञ्ज शहरको जनजीवन के हुन्छ ? यस्तो अन्योलका बीचमा हाम्रो साहाराको रुपमा रहेका शक्तिशालि मेयर ज्यूले कसरी निकासको दिनुहोला भन्ने प्रश्न नगरवासीले गर्न थालेका छन् ।

जोशमा होश गुमाउनु हुन्नः

कहिलेकाहिं योजनाबीना नै धेरै राम्रो गर्छु भनेर एक्लै धेरै हौसीए भने पनि परिणाम नराम्रो हुन सक्छ । हाम्रा मेयर विजय सरावगी ज्यूले पनि त्यस्तै गर्नुभयो । वहाँले राम्रो काम गर्ने सोचमा सङ्घ सरकारद्वारा सञ्चालित नारायणी अस्पताललाई महानगरपालिकाको कोषबाट कोभिड–१९ अस्पतालको रुपमा संचालन गर्ने जुन योजना बनाउनु भयो त्यो वहाँको भूल थियो किनकी यो अस्पताल राज्यद्वारा सञ्चालित अस्पताल हो । राष्ट्रभरका जनताले निर्वाधरुपमा यहाँको सेवासुविधा उपयोग र उपभोग गर्न सक्छन् ।

रित्तिदै गइरहेको महानगरपालीकाको कोषको भारलाई मितव्ययी बनाउने उद्देश्यले वहाँले आफ्ना जिल्लाका अन्य मेयर साथीहरुसँग मिलेर सहकार्य गर्नलाई फोनमा कुरा गर्दा पनि बदनियतपूर्वक त्यसलाई रेर्कड गरी सञ्चारमाध्ययममा नकारात्मक प्रचार गरियो । वास्तवमा त्यो सारै निन्दनीय र खेदपूर्ण कार्य थियो । वहाँको सोच गलत नभए पनि त्यसलाई गलतरुपले प्रचार–प्रसारमा ल्याइयो । वास्तवमा यस महामारीको बेला पर्सा जिल्लामा रहेका सम्पूर्ण पालीकाहरु एकजुट भई काम गर्न सकेको भए सम्पूर्ण जिल्लावासी कै हितमा हुने थियो ।

अषाढे बजेट जथाभावि वितरणः

पछि हालसालै प्रदेश सरकारले बजेट फ्रिज हुने डरले भएको पैसालाई विवेक गुमाएर जथाभावि छर्नु भन्दा सम्पूर्ण पैसालाई कुनै ठोस काममा लगाएको भए त्यसको दिर्घकालिन लाभ लिन सकिन्थ्यो कि ? जस्तै एम्बुलेन्स भएकै ठाउँ बहुदरमाई नगरपालिकालाई एम्बुलेन्स किन्न ३१ लाख, नारायणी अस्पताललाई २५ लाख, जिल्ला प्रशासन कार्यालय पर्सालाई ५० लाख, पोखरिया नगरपालीकालाई रु. ३७ लाख, कोभिड–१९ अर्थात कोरोना नियन्त्रणमा सहयोग भनेर प्रदान गरेको देखिन्छ । यो बजेट हाथिको मुखमा जिरा जस्तै हो । यति रकमले कुनैपनि क्षेत्रलाई पूर्णरुपले छुदैन । महामारीको बेला नभएको भए कुरा बेग्लै हुन्थ्यो तर यस्तो बेलामा सम्पूर्ण रकमलाई एकत्रित गरेर महामारी नियन्त्रणको लागि एकद्वार प्रणालिले खर्च गरेको भए झनै राम्रो हुन्थ्यो कि ?

स्वास्थ्यको केन्द्रविन्दु – नारायणी अस्पतालः

स्वास्थ्यको दृष्टिकोणले वीरगंजमा रहेको नारायणी अस्पताल पर्सा, बारा, रौतहट, सर्लाही लगायतका जिल्लावासीहरु तथा केही भारतीय बिरामीहरुको समेत स्वास्थ्यको केन्द्रविन्दु हो । यसको विभिन्न कारणहरु मध्ये दक्ष चिकित्सकको सेवा, अत्याधूनिक उपकरणको प्रयोग, गरिबहरुको पहुँच भएको सुगम वातावरण, आदि रहेका छन् । महानगरपालिका, प्रदेश सरकार तथा केन्द्रिय स्तरका नेताहरुको बीचमा तालमेल मिल्न नसकेको कारणले यसलाई सर्वसाधारणका लागि बन्द गरिएकाले अनेकौ जिल्लाका जनताले महिनौसम्म त्रास र दुःख भोग्नु पर्यो र केहिले त समयमै स्वास्थ्य सुविधा नपाएकाले ज्यान पनि गुमाउनु पर्यो । हाल यो अस्पताल मेयर ज्यू कै सकृयतामा पुनः सर्वसाधारणका लागि सञ्चालनमा आएको छ ।

कोभिड अस्पतालको आवश्यकताः

कोरोना महामारी लामै समयसम्म रहिरहने सरुवारोग भएकोले एउटा ठूलै कोभिड अस्पतालका साथै सरुवारोग नियन्त्रण तथा परीक्षण केन्द्रको तत्काल आवश्यक्ता छ । आउने दिनमा पर्सा जिल्लाको लागि यो रोग एउटा ठूलो चुनौति बन्न सक्छ किनकी गण्डक अस्पताल अस्थायी समाधान हो । त्यसको क्षमताले पूरै रोगीलाई सेवा दिन सक्दैन । चेकजाँचको दायरा बढाउने हो भने रोगीको संख्या कैयनगुणाले वृद्धि हुन सक्छ । त्यसैले समयमै गम्भिरतापूर्वक सचेत र सावधान भई उचित व्यवस्थापनतिर लाग्दा नै जनताको कल्याण हुने देखिन्छ । नत्रभने सबैको लागि ठूलो टाउकोदुखाई बन्न सक्छ । यो जिल्ला भारतसँग खुल्लारुपले जोडिएको हुनाले उच्च जोखिममा छ । बीरगञ्ज नेपालको मुख्य नाका हुनुका साथै स्वदेशि–विदेशी मान्छे मात्र होइन कि तेस्रो मुलुकबाट आयात गरिएका सामानहरु पनि आवतजावत हुने गर्छ ।

वीरगंज महानगरपालीकाको कोषबाट स्थापित कोभिड–१९ अस्पतालका कारणले गर्दा दिन प्रति दिन महानगरपालिका आर्थिक सवलता गुमाउदै गइरहेको अवस्था छ । अहिले यहाँका जनता रोगले भन्दा पनि बढि भोगले मर्ने भनी बढी चिन्तीत देखिन थालेका छन् । स्वास्थ्य मन्त्रालयको भेदभावपूर्ण निर्देशन अनुसार ५० शैयाको गण्डक कोभिड अस्पताल नारायणी अस्पतालकै मातहतमा नै रहेको देखिन्छ र त्यसको सम्पूर्ण व्यय भार वीरगंज महानगरपालीकाले नै उठाउनु परिरहेको छ । सरकारको निर्देशनानुसार स्थानिय सरकारको खर्चमा चल्ने यो नेपालकै पहिलो नमुना अस्पताल बनेको छ ।

पर्सा जिल्लाको सदरमुकाम बीरगञ्जको सन्दर्भमा यहाँका बुद्धिजिवि, शिक्षाविद्, शिक्षित वर्ग, पत्रकार, विद्यार्थी तथा व्यापारी वर्गले पनी केही कुराहरु जान्न नितान्त आवश्यक छ किनकी अगाडि हिड्दै जाँदा पछाडि हामीले के छाड्यौं वा के गर्दा अझ राम्रो हुन्थ्यो सोच्ने मान्छे हामीबीच निकै कम छन् ।

महामारीको निकास कसरी त ?

यस कोरोना महामारीको समस्यालाई व्यवस्थापन गर्नका लागि जबसम्म पर्सा जिल्लामा रहेका सम्पूर्ण नेतृत्वगर्वमा तन, मन, धनले कोरोना एकता र समन्वय बन्दैन तबसम्म निकास सरल र सफल होला भन्न निकै कठिन छ । प्रत्येक क्षेत्रका नेतृत्वगर्ने पंक्तिलाई सरकारले छुट्टाछुट्टै विभिन्न शिर्षकमा बजेट निकाश गरेको देखिन्छ । हाम्रो पर्सा जिल्लामा ४ वटा संसदीय निर्वाचन क्षेत्र छ जहाँबाट चारजना सांसद र दुईजना समानुपातिक सांसद गरी ६ जना सांसदहरु हुनुहुन्छ ।

बजेट वा कार्ययोजनाको कमि ?

आफ्नो क्षेत्रमा विकास गर्न भनी प्रत्यक्ष तर्फ जितेका ४ जनालाई ६ करोडको दरले बजेट छुट्याइन्छ । त्यस्तै सम्पूर्ण पर्सा जिल्लाभरि प्रत्यक्ष र समानुपातीक गरी १३ जना विधायक, जसमा ५ समानुपातिक तर्फ डेढ करोड र प्रत्यक्षतर्फ ८ जनालाई ३ करोड प्रदेश सरकारले आआफ्नो क्षेत्रमा विकास कार्यका लागि दिने गरेको छ ।

त्यस्तै पर्सा जिल्ला समन्वय समिती (पुरानो जिल्ला विकास समिती)को लागि राज्यले रु. २८ करोड विकास बजेट दिने गरेको देखिन्छ भने बीरगञ्ज महानगरपालीकामा रु. १ अर्ब ३९ करोड ८९ लाख र एशियन विकास बैंक (एडिबी) को सहयोग रकम र जनताबाट उठेको स्थानिय कर सबै मिलाएर निक्कै ठूलो रकम रहेको देखिन्छ ।

त्यस्तै पोखरीया नगरपालीकाको रु. ३१ करोड ६९ लाख र पर्सा गढी नगरपालीकाको रु. २८ करोड ७६ लाख, बहुदरमाइ नगरपालीकाको रु. ३१ करोड ४८ लाख, त्यस्तै गाउँपालीका अन्र्तगत छिपरमाइ गा.पा. मा रु २३ करोड ९३ लाख, जगरनाथपुरमा रु. २६ करोड २९ लाख, धोवीनी गा.पा.मा रु. २० करोड ६४ लाख, पकाहा मैनपुरमा रु. १९ करोड ४४ लाख, पटेर्वा सुगौलीमा रु. २३ करोड ७४ लाख, विन्दवासनी गा.पा.मा रु. २२ करोड ५९ लाख, सखुवा पर्सौनीमा रु. ३१ करोड ५८ लाख, ठोरी गा.पा.मा रु. २७ करोड ६८ लाख, कालीका माई गा.पा.मा रु. २१ करोड ६ लाख, जिरा भवानी गा.पा.मा रु. २४ करोड ९९ लाख रहेको देखिन्छ ।

यसको अतिरिक्त संघीय र प्रदेश सरकारले विकासको लागि भनेर पनि बेलाबेलामा थुप्रै शिर्षकमा बजेट निकास गरिरहेको हुन्छ । साथ–साथै विभिन्न सरकारी तथा गैरसरकारी संघसंस्था द्वारा पनि थुप्रै रकमहरु प्रदान गरिएको तथ्याङ्क रहेको देखिन्छ । तर विकास तपाई हाम्रो अगाडी नै छ । रकम नभएर विकास नभएको हो कि सोच र नियतमा खडेरी परेर हो ? यो खबरदारी गर्ने काममा सकृय हुनु पर्ने विपक्षि दल, बुद्धिजिवी वर्ग, पत्रकार र नागरिक समाजको अगाडि केहि चुनौती पक्कै होला तर पनि जनता सबैसँग आश लगाएर बसेका छन्, उनीहरुको भूमिकालाई नियालिरहेका छन् ।

ठूलाठूला माछा देखाई भ्यागुता दिएर हुन्छ ?

देशमा ठूला परिवर्तनहरु त आए तर ती परिवर्तनहरु नेता, उनीहरुको आफन्त र चम्चाहरुले मात्र अनुभुति गर्न पाएँ । नत्रभने संविधान र नियम कानूनको ठूलाठूला दस्तावेजहरुमा लेखिएका लोभ्याउने खालका मिठा कर्णप्रिय शब्दहरु थोरैमात्रमा पालना भएको भए पनि आज गरिब, निमूखा जस्ता निम्नवर्गिय र मध्यम वर्गिय जनताले पनि त्यसको प्रत्याभूति गर्ने मौका पाउँथे होला । यसरी भोकै बस्ने अवस्थाको सामना गर्नुका साथै स्वास्थ्य सुविधाका लागि भौतारिएर आफ्नो ज्यान गुमाउनु पर्ने थिएन । बन्दिको समयमा देशभरि हजार भन्दा बढी मानिसहरुले आत्महत्या गर्नुपर्ने अवस्थालाई अवश्य पनि रोक्न सकिन्थ्यो । भाषणमा ठूलाठूला माछा देखाउने र दिने बेलामा भ्यागुता दिएर हुन्छ ?

आपतकालिन बजेटबाट निकास सम्भवः

यसरी निकास भएका विकास बजेट मध्येबाट यस आपतकालमा केही बजेटका रकम पछिका लागि कटौति गर्दै कोरोनाका विरुद्ध सामूहिक प्रयास भएमा जनहितमा कल्याणकारी हुने थियो । त्यसकारण प्रदेश सरकारको जिम्मेवारी निर्वाह गरिरहनु भएका मो. लालबाबु राउत गद्दी ले आफ्नो अग्रणी भूमिका निर्वाह गर्नुपर्ने पर्सेली जनताहरुले महसुस गर्न थालेका छन् । समय सदैव पक्कै पनि यस्तै रहने छैन, यसको औषद्यी पत्ता लगाउन संसार लागेको छ । मुक्तिको बाटो त अवश्य निस्केला तर वहाँहरुले यस महामारीको बेला खेलेको कुन भूमिकाको आधारमा कुन मुख लिएर फेरि जनताको घरदैलोमा जानु हुनेछ ? जनताहरुले थुप्रै पश्नहरु राखेका छन् जसको उत्तर नदिई सुख छैन । यदि समयमै वहाँको भूमिका सकृय, सकरात्मक, निकासमूखि देखिएन र संक्रमण फैलिएर जनधनको ठूलो क्षति भयो भने यहाँका जनता र इतिहासले वहाँ लगायत सम्पूर्ण पर्सेली नेताज्यूहरुलाई माफ गर्न नसक्लान, सक्लान त ?

– आलेख लेखक शुशिल भट्टराई बीरगंजबाट समसामयिक राजनीतिक बिषयमा कलम चलाउनु हुन्छ …

 

RSS280
Follow by Email220
Facebook1k
Twitter570
LinkedIn268
LinkedIn
Share
WhatsApp733