Home Nepali Blogs ‘एस.ई.ई.’ र ‘प्लस टू’ को परीक्षा सम्बन्धमा यसो गर्दा कसो होला? – श्याम विकेश महतो

‘एस.ई.ई.’ र ‘प्लस टू’ को परीक्षा सम्बन्धमा यसो गर्दा कसो होला? – श्याम विकेश महतो

0
‘एस.ई.ई.’ र ‘प्लस टू’ को परीक्षा सम्बन्धमा यसो गर्दा कसो होला? – श्याम विकेश महतो

वर्तमान परिस्थितिमा पुरै विश्व नै कोरोना कहरबाट प्रभावित भएर आर्थिक संकटबाट गुज्रिरहेको छ र आर्थिक स्थीतीलाई सुधार्न मजबुत कडीका रुपमा रहेका शिक्षा क्षेत्र पनि निकै प्रभावित भएको सर्वबिदितै छ । यो कहरको मारमा नेपाल पनि नराम्रो तरिकाले फसेको छ । यद्दपी कोरोना संक्रमितको संख्या अरु देशको तुलनामा कम छ र मृतकको संख्या पनि नगण्य मात्रामा छ जुन सकारात्मक परिस्थितिको संकेत हो। दुई महिना भन्दा बढीको लकडाउनले अर्थ व्यवस्था सँगसँगै शैक्षिक क्षेत्र पनि पूर्णरुपमा प्रभावित भएको छ।

भोलिपल्टबाट शुरु हुने भनिएको एस.ई.ई. परीक्षा एकदिन अगाडि अनिश्चितकालका लागि स्थगित हुँदा अहिलेसम्म विद्यार्थीहरु परीक्षा हुने कि नहुने भन्ने अन्यौलमै छन। ‘प्लस टू’ को कक्षा १२ र ११ को परीक्षा क्रमशः वैशाख ८ गते र वैशाख २१ गतेबाट हुने भनिएको पनि अनिश्चितकालका स्थगित हुँदा थप अन्यौल सिर्जना भएको छ। एकातिर देशका भविष्यका कर्णधारका रुपमा रहेका लाखौ विद्यार्थीहरुको भविष्य सुनिश्चित गर्नुपर्ने जिम्मेवारी छ भने अर्कोतिर स्वास्थ्य जस्तो अति संवेदनशील विषयलाई ध्यानमा राखेर कुनै पनि किसिमले धेरै संख्यामा मानिसहरूको भेला कुनै निहुँमा गर्न नहुने भनेर सोच्नु पनि अहिलेको आवश्यकता हो। तर यस्तो भयावह परिस्थितिमा पनि दुबै विषयलाई गम्भीरतापूर्वक मध्यनजर राखेर एउटा मध्यमार्गी बाटो अपनाई उच्च सतर्कताका साथ समस्याको समाधान गर्न सकिन्छ र यो आजको आवश्यकता पनि हो ।

अहिले प्रमुख चुनौतीको रुपमा रहेको एस.ई.ई. परीक्षा चैत्र मसान्तभित्र सकेर असारको दोस्रो साता वा कहिलेकाही तेस्रो सातासम्म नतिजा प्रकाशित हुनेगरेको छ। तर यो वर्ष कोरोनाको प्रभावले जेष्ठ दोस्रो साता बितिसक्दा पनि परीक्षा हुने नै भनेर कुनै त्यस्तो वातावरण सिर्जना भएको वा गरिएको देखिदैन। यस्तो स्थितिमा कहिले परीक्षा हुने र कहिले नतिजा प्रकाशित गर्ने ताकी साधारणतया साउनको दोस्रो सातादेखि शुरु हुने कक्षा ११ को वार्षिक कार्यतालिकामा पनि कुनै प्रभाव नपरोस भन्ने चिन्ताले प्रश्न चिन्ह खडा गरेको छ। तर सरकारको यस्तो प्रष्टरुपले कुनै तयारी सार्वजनिकरुपमा देखिएको छैन जसले थप अन्यौल सिर्जना गरेको छ। केही विद्यालयहरुले विद्यार्थीहरुको शिक्षास्तर टिकाईराख्न र उनीहरुलाई मजबुत राखिरहन पहुँच भएसम्म विद्युतीय कक्षा अर्थात अनलाइन कक्षा सञ्चालन गर्दैआएका छन् जुन निकै नै सराहनिय कदम हो। तर परीक्षाको निश्चितता नहुँदा विद्यार्थीहरु पनि विस्तारै हरेस खाएर पढेकै कुरा कति पढिराख्ने भनेर निराश हुँदै गइरहेका छन् जुन कुनै पनि किसिमले देशको भविष्यको लागि शुभ संकेत होइन। यस्तो जटिल अवस्थाबाट निकास पाउन केही उपायहरू छन् जुन अपनाउँदा जोखिमरहित तरीकाले समयमा परीक्षा सञ्चालन गरेर बिगत कै वर्षहरु जस्तै सही समयमै नतिजा प्रकाशन गर्न र नयाँ शैक्षिकसत्र शुरु गर्न सकिन्छ ।

पहिला कुरा गरौ एस.ई.ई. को जुन ढिलो भैसकेको अवस्था छ र समयमै नतिजा आउनेमा अहिलेसम्म कुनै रुपले विश्वस्त हुने परिस्थिति देखिएको छैन । एकथरी विचार उठिरहेको छ “अब ढिलो भयो । परीक्षा नलिएर बरु विद्दालयले लिंदै आएको त्रैमासिक तथा टेस्ट परीक्षाका आधारमा विद्यार्थीलाई मूल्याकंन गरी सिधै प्रमाणपत्र दिनुपर्छ।” यो विचारसँग अधिकांशको सहमति देखिन्छ । तर अर्कोथरी तर्क यो पनि उठिरहेको छ कि ढिलै भएपनि परीक्षा लिनुपर्छ । नत्र अहिलेसम्मको प्रैक्टिकल परीक्षाको मूल्याकंन दिने गरेको प्रवृती हेर्दा सबै विद्दालयहरुले आफ्ना विद्यार्थीहरुलाई जथाभावी ‘ए प्लस’ मात्रै दिएर प्रमाणपत्र बाड्न बेर लाउँदैनन् र यो यथार्थ पनि हो । यसरी हेर्दा हाम्रो देशको परिपेक्षमा उचित मूल्यांकनका लागि परीक्षा लिनु अनिवार्य नै हो र यो सम्भव पनि छ।

यसरी सम्भव छ परीक्षा:

गुगलमा खोज्दा प्रष्टरुपमा डाटा उपलब्ध नभएपनी हाम्रो देशमा विश्वविद्यालयको संख्या १०, आङ्गिक क्याम्पसहरु करीब १४०० र आधारभूत तथा माध्यमिक विद्दालय ३५२२२ को हाराहारीमा छन् । पहिलादेखी प्रचलनमा रहेको प्रायः सरकारी विद्दालयहरुमा मात्र एस.ई.ई. अथवा प्लस टू को परीक्षा लिइने व्यवस्था अलि परिवर्तन गरेर सरकारी तथा निजी (सबै तहका) विद्दालयहरुमा परीक्षा लिने नयाँ व्यवस्था लागू गर्ने हो भने सबै सम्भव देखिन्छ। एस.ई.ई. अथवा प्लस टू को परीक्षाको लागि पनि विश्वविद्यालय, कलेज तथा निजी विद्दालयहरुको भौतिक संरचना प्रयोग गर्ने हो भने सामाजिक दुरी कायम हुनेगरी एउटा डेस्कमा एक वा दुई जना बस्नेगरी व्यवस्था मिलाउँदा पनि कक्षाकोठा तथा बेञ्च डेस्कको अभाव हुँदैन। एउटा डेस्कमा एउटै परीक्षार्थी मात्रै अथवा दुईजना राखे पनि डेस्कहरुबीचको दुरी ध्यानमा राखेर परीक्षा लिन सकिन्छ जुन अहिलेको परिस्थितिमा उपयुक्त हुन्छ । अथवा सामान्य हिसाबले सोच्दा पनि कक्षा १० सम्म अथवा प्लस टू सम्म पठनपाठन हुने विद्दालयहरुमा लगभग १० भन्दा बढी कक्षाकोठा हुन्छ जुन त्यै विद्दालयबाट एस.ई.ई. दिने विद्यार्थीहरुलाई एउटा डेस्कमा एकजना मात्रै बस्ने व्यवस्था मिलाउँदा पनि बस्ने डेस्क देखि कक्षाकोठा सम्मको अभाव हुँदैन । ठूला विद्दालयहरुमा भौतिक संरचना पर्याप्त भएकोले अरु विद्दालयहरुको पनि धेरै परीक्षार्थी राख्न सकिन्छ। र अझै राम्रो गर्न प्रत्येक नगरपालिका, गाउँपालिका तथा प्रमुख शहरहरु भित्रको विद्दालयहरुको परीक्षा केन्द्र परिवर्तन गरेर परीक्षा सञ्चालन गर्न सकिन्छ ।

आवश्यक जनशक्ति:

परीक्षा सञ्चालनका लागि चाहिने जनशक्ति सरकारी तथा निजी दुबै विद्दालयबाट लिएर प्रयोग गर्न सकिन्छ। स्वास्थ्यको हिसाबले हेर्दा परीक्षा लिइने कक्षाकोठा परीक्षा हुनुअघी नै प्रत्येक दिन स्यानिटाइज गर्ने, परीक्षा एक-एक दिनको अन्तरालमा लिने, एउटा डेस्कमा एक वा दुई जना परीक्षार्थी मात्रै राख्ने, परीक्षार्थीको बस्ने स्थान परिवर्तन नगर्ने तथा प्रश्नपत्र तथा उत्तरपुस्तिका बाड्ने बुझाउने बेलामा स्यानिटाइजर प्रयोग गर्न प्रत्येक कोठामा कमसेकम एउटा सानो स्यानिटाइजरको प्रवन्ध गर्ने जस्ता व्यवस्था मिलाउनुपर्छ ।

बाहिर सामाजिक दुरी कायम गर्नुपर्छ भन्ने चेतना सबैलाई अवगत भएको र लकडाउन अवधीभर पालना गरेका छन् र सचेत पनि छन् भन्दा दुई मत छैन । परीक्षार्थीहरुको स्थान परिवर्तन नगर्दा कोही संक्रमित भएको खण्डमा पनि सर्न सक्दैन। एक एक दिनको अन्तरालमा परीक्षा लिंदा भौतिक बस्तुहरु जस्तै बेन्चडेस्क, टेबुल,कुर्सी इत्यादीमा यदी भाइरस भएपनी ४८ घण्टामा मरेर जाने र बाँकी रहेको स्यानिटाइज गर्दा पनि हटेर जानेछ । अहिलेसम्म डाक्टरहरूले सार्वजनिक गरेको तथ्य तथा बच्ने तरीकाहरु यस्तै छन् । त्यहि भएर यस्तो तरीकाले व्यवस्था गरेमा संक्रमणको जोखिम पनि नहुने र परीक्षा सञ्चालन गर्न पनि सकिने सम्भावना छ । यद्दपी यस्तो व्यवस्था अलि खर्चिलो देखिन्छ तर असम्भव भने छैन ।

परीक्षाफल प्रकाशन यसरी:

अब कुरा आउँछ ढिलै परीक्षा गरेपनी समयमै अर्थात असारको तेस्रो साता वा बढीमा अन्तिम सातासम्म एस.ई.ई. को नतिजा प्रकाशन कसरी गर्ने भनेर । यसको लागि पनि सरल उपाय छ । पहिला परीक्षा लिइसकेका उत्तरपुस्तिकालाई एक हप्तासम्म स्यानिटाइज गरिसकेको बन्द कोठामा राख्ने अनि त्यसपछी मात्रै जाँच्नलाई पठाउने व्यवस्था मिलाउनुपर्छ । अहिलेसम्म सामान्यतया काठमाडौं तथा मुख्य शहरहरुमा मात्रै उत्तरपुस्तिका जाँच्न पठाउने प्रवृतीलाई परिवर्तन गरेर एउटा जिल्लाभित्रका उतरपुस्तिका त्यहि जिल्लामा वा नजिक पर्ने छिमेकी जिल्लामा पठाएर जाँच्ने व्यवस्था मिलाउनुपर्छ । तथा अहिलेसम्म प्रायः सरकारी विद्दालयका शिक्षकशिक्षिकाले मात्रै उत्तरपुस्तिका जाँच्ने पाउने व्यवस्थालाई परिवर्तन गरेर निजी विद्दालयमा कार्यरत योग्यताप्राप्त शिक्षकशिक्षिकाहरुलाई पनि उत्तरपुस्तिका जाँच्ने कार्यमा संलग्न गराउनुपर्छ । यस्तो व्यवस्थाले उत्तरपुस्तिका जाँच्ने जनशक्ति झण्डै चारपाँच गुणाले बढ्ने भएपछी समयमै वा समय अगावै पनि उत्तरपुस्तिका जाँच्ने काम सकिने सम्भावना हुन्छ । यस्तो गर्दा बुझौ कि एउटा विद्दालयको विद्यार्थीहरुको उत्तरपुस्तिका सामन्यतया कुनै एउटा शिक्षकको जिम्मामा पर्न जान्छ जुन एकहप्तामा पनि उत्तरपुस्तिका जाँच्ने काम सकिन्छ वा बढीमा १० दिन वा २ साता लाग्नसक्छ। र नतिजा बनाउने काम पनि जिल्लास्तरमा छुट्टाछुट्टै दिने हो भने समयमै नतिजा प्रकाशन गर्न सकिने प्रचुर सम्भावना देखिन्छ ।

कक्षा १२ को परीक्षा:

एस.ई.ई. सकेको दुईदिन पछि देखि नै एस.ई.ई. को जस्तै चुस्तदुरुस्त व्यवस्था मिलाई सावधानी अपनाई कक्षा १२ को पनि परीक्षा लिन सकिन्छ । यसको लागि पनि प्राथमिक तहदेखि उच्चमाध्यमिक सम्मको सरकारी तथा निजी विद्दालयहरु प्रयोग गरेर दुबै क्षेत्रको जनशक्तिलाई प्रयोग गर्नुपर्दछ। माध्यमिकस्तरको शिक्षकशिक्षिकाहरुलाई एस.ई.ई. को उत्तरपुस्तिका जाँच्न लाउने र बाँकी प्राथमिक देखि उच्चमाध्यमिक सम्मका कार्यरत जनशक्तिलाई कक्षा १२ को परीक्षामा प्रयोग गर्ने हो भने सम्भव छ । उत्तरपुस्तिका जाँच्ने र नतिजा प्रकाशनमा पनि एस.ई.ई. को जस्तै व्यवस्था मिलाएर जिल्लास्तरमै उत्तरपुस्तिका साटफेर गरेर जाच्ने र नतिजा प्रकाशन गर्ने हो भने पहिलाको जस्तै साउन अन्तिम सातासम्म नतिजा प्रकाशन गर्न सकिन्छ ।

कक्षा ११ को परीक्षा:

कक्षा ११ को परीक्षाको सम्बन्धमा भने केही फरक तरीका अपनाउँदा उत्तम हुन्छ होला । सामान्यतया कक्षा ११ को परीक्षा वैशाखमा सकेर कक्षा १२ को पठनपाठन जेष्ठको अन्तिम साता अथवा असारको पहिलो सातामा शुरु हुने गरेको छ । अब यस्तो स्थितिमा कक्षा ११ को परीक्षा एस.ई.ई. र कक्षा १२ को परीक्षा पछी लिंदा ढिलो हुने देखिन्छ। यस्तो अवस्थामा कक्षा ११ का लागि कक्षा १२ को नयाँ शैक्षिकसत्र शुरु हुनु सबैभन्दा जरुरी देखिन्छ। त्यसैले यसको लागि कक्षा ११ को परीक्षा नै नलिई विद्दालयहरु (प्लस टू) ले आफैले लिएको त्रैमासिक परीक्षाको मूल्याकंनको आधारमा नै सिधै नतिजा प्रकाशन गरेर कक्षा १२ को शैक्षिकसत्र अनलाइन कक्षा अथवा कक्षाकोठामा सामान्य तरिकाले कोरोना महामारीको स्थिती हेरेर कक्षा सञ्चालन गर्न व्यवस्था मिलाउनुपर्छ। तर यसमा पनि नतिजा प्रकाशन आफ्नै अनुसारले गर्न अनुमती दिदाँ विद्दालय (प्लस टू)हरुले मनपरी ढङ्गले आफ्ना सबै विद्यार्थीहरुलाई धेरै अङ्क दिई प्रमाणपत्र बाडन बेर लाउदैनन भन्दा दुई मत छैन । तर यसको लागि केही सिमा तोक्न भने सकिन्छ । सिमा तोक्नु भनेको मूल्याकंन नै यतिसम्म मात्र गर्न मिल्ने भन्ने होइन। जति पनि अङ्क दिन मिल्छ तर त्यो विद्दार्थीले राष्ट्रिय परीक्षा बोर्डले अर्को वर्ष लिने कक्षा १२ को परीक्षामा ११ कक्षामा पाएको कुल प्राप्ताङ्कको कमसेकम ८० प्रतिशत अथवा ७० प्रतिशत ल्याउनैपर्छ नत्र त्यो भन्दा कम आएमा कक्षा ११ को नतिजा पनि सोही अनुसार २० अथवा ३० प्रतिशतले घट्ने जस्ता बाध्यकारी नियम बनाउनुपर्छ ताकी विद्यालय (प्लस टू) हरुले मनपरी ढङ्गले अङ्क प्रदान न गरोस। र अर्को सामान्य तथ्य कुनै पनि विद्दार्थीको पढाईको क्षमताको आधारमा उसले ल्याउने प्राप्ताङ्क लगभग प्रत्येक परीक्षामा मिल्दोजुल्दो हुन्छ । त्यही भएर कहिले परीक्षामा नराम्रो गरेमा सामान्यतया २० अथवा ३० प्रतिशत ले कमीबेसी हुनसक्ने सामान्य आकलन भएकोले यो एकदमै उपयुक्त हुने देखिन्छ ।

अर्को पक्ष यदि कुनै कमजोर विद्यार्थीलाई विद्यालयले जानी जानी धेरै अङ्क दिएमा त्यो विद्यार्थी कि त आफ्नो पढाइ सुधार्न तर्फ प्रेरित हुन्छ वा १२ मा कम अङ्क ल्याएमा उसको वास्तविक क्षमतासङ्ग लगभग मिल्नेखालको नतिजा प्राप्त गर्नेछ । यसको लागि सफ्टवेयर बनाएर कक्षा ११ र १२ को नतिजा मिलाउने वा जोड्ने बेलामा यो सफ्टवेयरको माध्यमले सजिलै गर्न सकिन्छ । विश्वविद्यालयस्तरमा यो प्रयोग भईसकेको बिधि हो । तर  यो नीति एस.ई.ई. र कक्षा १२ को सन्दर्भमा उपयुक्त छैन किनभने एस.ई.ई. को नतिजाको त्यसपछिको कक्षाको ११ को नतिजा सङ्ग कुनै तालमेल हुँदैन र कक्षा १२ को नतिजाको त्यसपछीको विश्वविद्यालयको नतिजा सँग कुनै सरोकार हुँदैन जसले गर्दा यसमा हुनसक्ने मूल्यांकनको लापरबाहीलाई नियन्त्रण गर्न सकिदैन।

गर्न चाहे सम्भव छ, नत्र सबै असम्भव छ । तीनै तहको सरकारले यस्तो नीतिमा जोड दिने हो भने भाइरस संक्रमण नियन्त्रण पालना गरेर पनि समयमै परीक्षा लिने, नतिजा प्रकाशन गर्ने र समयमै नया शैक्षिकसत्रको शुरूवात गर्ने सकिने प्रबल सम्भावना छ। यो सन्दर्भमा सकारात्मक तवरले सोच्नु आवश्यक छ र सम्भव पनि छ ।

– आलेख लेखक श्याम विकेश महतो  ग्लोबल विजनेस कलेज, बीरगंजमा एक अध्यापक हुनुहुन्छ र वहाँ समसामयिक विषयमा कलम चलाउनु हुन्छ …

www.facebook.com/shyambikesh.mahato

RSS280
Follow by Email220
Facebook1k
Twitter570
LinkedIn268
LinkedIn
Share
WhatsApp733