Home Nepali Blogs आखिरमा २०१७ साल किन ?

आखिरमा २०१७ साल किन ?

0
आखिरमा २०१७ साल किन ?

नेपालको राजनीति इतिहासको विभिन्न कालखण्डलाई अध्ययन गर्दैजाँदा विविद्य रोचक तथ्यहरु फेला पर्छन जुन हालको राजनीति कुचक्र तथा भद्रगोल अवस्थासँग हुबहु तालमेल मिल्न खोज्छ । आजको युवा जसले नेपालको राजनीतिको बारेमा नाम मात्रका थोरै अध्ययन गरेका छन, उनीहरुलाई केवल वर्तमान राजनीतिक अवस्थासँग मात्र सम्बन्धित भएर हेर्छन । युवाहरु राजनीति गतिविधिमाथि सामाजिक सञ्जालमा आफ्ना आक्रोस पोख्छन् । तर साच्चि भन्ने हो भने हाम्रो देशका राजनीतिज्ञहरुको चरित्र परापूर्व काल देखि नै उस्तै हुँदै रहेको देखिन्छ । उनीहरुको खराब आचरण तथा आपसी असमझदारीले गर्दा हिजो र आज पनि देश तथा जनताले भोग्नु सम्मको दुःख भोग्दै आइरहेका छन् । यसलाई बुझ्न इतिहासका केहि पन्नाहरु नपल्टाइ हुन्न किनकी समस्याको जरो त्यहि छ ।

वास्तवमा राजनीतिक विसंगतिका कारणले गर्दा नै नेपाल भन्दा पनि पछिका देशहरु विकासको पराकाष्ठा नाघि सके । भौतिक विकासमा फड्को मार्दै आधुनिक विज्ञान तथा प्रविधिमा अव्वल बनिसके । ती देशहरुले अब के विकास गर्ने, नयाँ के गर्ने भन्ने बारेमा विभिन्न योजना बनाई बसेका छन् भने हामी कहाँबाट शुरु गर्ने, कहिले शुरु गर्ने, कसरी शुरु गर्ने भन्ने बारेमा नै अल्झी बसेका छौं । यसको मुख्य कारण सवल नेतृत्वको कमि नै रहेको देखिन्छ । हाम्रो देशमा जति पनि परिवर्तन वा आन्दोलनहरु भए ती सबै स्वदेशी दिमाग भन्दा विदेशी दिमाग कै बढी उपज रहेको देखिन्छ । परिणामस्वरुप बहुमतको सरकार पनि हाम्रो देशमा कहिल्यै स्थिर हुन सकेन । यदि स्वदेशी दिमागले नै आफ्नै देशको माटो र हावापानी अनुसार काम गर्नसक्या भए व्यवस्था दिगो हुन्थ्यो र देशको विकाशले पनि गति लिन्थ्यो तर इमानदारीको साथ भन्नुपर्दा त्यसो हुन नसकेकोले सिंगो देशवासीले अझै दुःख पाइरहेका छन् ।

नेपालको इतिहासमा भारतको हस्तक्षेपः

इतिहास साक्षी छ हाम्रो देशको हरेक गतिविधिमा भारत प्रत्यक्ष वा अप्रत्यक्षरुपले सामेल भएकै छ । चाहे राजा त्रिभुवन, राणा र नेपाली काँग्रेस बीचको दिल्ली सम्झौता होस् वा राजा ज्ञानेन्द्र लगायत विभिन्न दलका पार्टिहरुबीच १२ बुँदे सम्झौता किन नहोस् । सम्पूर्ण महत्वपूर्ण राजनीतिक घटनाहरुमा दिल्ली सामेल भएकै हो । पुराना पार्टिको रुपमा रहेका नेपाली काँग्रेस, कम्यूनिस्ट पार्टीको उत्पति देखि लिएर नयाँमा माओवादी, मधेशवादी आदि जस्ता विभिन्न पार्टिहरुलाई अस्तित्वमा ल्याउन राम्रो जलमलको व्यवस्था भारतबाट पुरानै समय दृखि हुँदै आएको छ । त्यसो भएर भारतको इशारा नबुझ्ने कुनै पार्टि नै छैन । सत्तालोलुपताको कारणले गर्दा त्यो कुरा सम्पूर्ण नेतृत्व वर्गले बुझेर पनि अबुझ बनेर बसेका छन् ।

नेपाली राजनीतिलाई दिल्लीमा फर्केर हेर्दाः

विस २००७ साल कात्र्तिक २३ गतेका दिन ४ वर्षका ज्ञानेन्द्र शाहलाई दरबार छाडेर राजा त्रिभुवनले सपरिवार नेपाल स्थित भारतिय राजदुतावासमा शरण लिन पुगे र त्यहि दिन भारतिय जहाजले दिल्ली पुगे । त्यसपछि तत्कालिन भारत सरकारको पहलमा राणा शासक, नेपालमा प्रजातन्त्रको लागि आन्दोलनरत नेपाली काँग्रेस र राजा त्रिभुवनबीच त्रिपक्षिय सम्झौता भयो । त्यसपछि यस्ता कतिपय महत्वपूर्ण सम्झौताहरु भारतले दिल्लीमा विभिन्न समयसापेक्ष गराउदै आइरहेको छ जसको सुरुवात राजा त्रिभुवन, राणा शासक र नेपाली काँग्रेसले दिल्लीमा गरेका थिए ।

Nepali Congress in 1951

  • Nepali Congress in 1951 (Source: Internet)

दिल्ली सम्झौतापछि अन्तरिम सरकारमा कोइरालाः

दिल्ली सम्झौतापछि नेपालमा अन्तरिम सरकारको गठन भयो, जसको नेतृत्वमा राणाहरुका तर्फबाट मोहन शमशेर प्रधानमन्त्री, बब्बर शमशेर रक्षामन्त्री, निरुपजड्ड शमशेर शिक्षामन्त्री, योज्ञ वहादुर वस्नेत स्वास्थ्यमन्त्री बने भने नेपाली काँग्रेसका तर्फबाट वीपी कोइराला गृहमन्त्री, शुवर्ण शमशेर वित्तमन्त्री, गणेशमान सिंह वाणिज्य तथा उद्योग मन्त्री, भद्रकाली मिश्रा यातायात मन्त्री, भरतमणी शर्मा कृषि तथा खाधान्न मन्त्री बने ।

त्यसपछि देशमा नेपाली काँग्रेस लगायत धेरै पार्टीहरुले आफ्नो आन्दोलन बन्द गरे तर त्यसबेला नेपाली काँग्रेसबाटै अर्को तर्फबाट आन्दोलन चलाइरहेका संस्थापक नेता डा. केआइ सिंह लाई दिल्ली सम्झौता कुनै पनि हालतमा मान्य थिएन किनकी जुन राणाहरुको विरुद्ध आन्दोलन गरियो त्यसकै साथ सरकार बनाउनु हुँदैन र उनीहरुलाई सरकारमा लिएर जानु हुँदैन भन्ने उनको मान्यता रहेको थियो तर उनको यो आन्दोलनलाई दवाइयो र भारत कै दबावमा उनी देश छाडेर चिनमा शरण लिन पुगे । यीनै अन्तिम राणा प्रधानमन्त्री मोहन शमशेरकै बेलामा १३ जुलाइ १९५० का दिन भारतको तर्फबाट भारतिय राजदुत चन्द्रनारायण सिंह, प्रधानमन्त्री मोहन शमशेर जड्डबहादुर राणाबीच १९५० को सन्धिमा हस्ताक्षर गरिएको थियो ।

BP Koirala

  • Lt. BP Koirala (Source: Internet)

अन्तरिम सरकारको असफलताः

अन्तरिम सरकारको गठन भइसकेपछि केहि राणाशासकहरु र नेपाली काँग्रेसबीच आपसि समझदारी बन्न सकेन परिणाम राम्रो वातावरणमा काम गर्ने अवस्था हुन सकेन । आपसि कलह, खिचातानीको वातावरण शुरु भयो । फलस्वरुप दुबै पक्षबाट रानीनामा दिएर अन्तरिम सरकारको विघटन गरियो । र केही समय पछि तत्कालिन राजा त्रिभुवनले पुनः नेपाली काँग्रेसकै नेतृत्वमा एकल पार्टिको सरकार गठन गरे जसको प्रधानमन्त्री मातृकाप्रसाद कोइराला भए तर केहि समयकै अन्तरालमा मातृकाप्रसाद कोइराला र विपी कोइरालाबीचमा आपसी तालमेल मिल्न सकेन र यो सरकारलाई पनि भंग गरियो । फलस्वरुप मातृकाप्रसाद कोइराला नेपाली काँग्रेस पार्टिबाट आफ्ना समूहका केहि व्यक्तिलाई लिई नयाँ पार्टि आफ्नै अध्यक्षतामा गठन गरे जसको नाम ‘नेपाल प्रजा पार्टि’ राखे ।

त्यसपछि राजा त्रिभुवनले मातृकाप्रसाद कोइरालाकै नेतृत्वमा विस २०१०, अषाढ २ गते नयाँ सरकार गठन गरे । तर पुनः पार्टिकै नेताहरु बीचका आपसी खिचातानिले गर्दा यो सरकारको आयु पनि लामो हुन सकेन ।

राजा त्रिभुवनको मृत्युः

  • Lt. King Tribhuvan (Source: Internet)

विस २०११ फाल्गुन ३० गते राजा त्रिभुवनको मृत्यु भयो । त्यसपछि राजाको सम्पूर्ण वागडोर राजा महेन्द्रले सम्हाले । उनले राज्य पद्दती आफूले सम्हाले पछि केही समयको लागि प्रत्यक्षरुपमा आफ्नो हातमा लिए र एडभाइजरी काउन्सिलको गठन गरे । पाँच सदस्य हुनेगरी त्यसको चेयरपर्सनमा गुन्जमान सिंहलाई बनाए । केहि समय यसरी राज्य सञ्चालन गरे । निर्वासित भएका डा. केआइ सिंहलाई चाइनाबाट नेपाल फर्काए र ११ सदस्यी कमिटि बनाई उनकै नेतृत्वमा सरकार चलाउने जिम्मा दिए । तर फेरि आपसी समझदारीको कमि देखियो र यो समितिले पनि लामो समय सम्म देश हाक्न सकेन । यो देखेर राजा महेन्द्रले पुनः सरकार भड्ड गरेर प्रत्यक्ष सरकार द्वारा देश सञ्चालन गर्न थाले । केही समय पछि शुवर्ण शमशेरको नेतृत्वमा अन्तरिम सरकार गठन गरे ।

Dr. K I Singh

  • Lt. Dr. K I Singh (Source: Internet)

नेपालको पहिलो आम निर्वाचनः

त्यसपछि विस २०१५, फाल्गुन ७ गते नेपालमा पहिलोपल्ट १०९ सिटको लागि आम निर्वाचन गराइयो । त्यसबेला नेपालमा बहुदलिय प्रणाली रहेको देखिन्छ किनकी त्यस निर्वाचनमा ९ वटा राजनीतिक दलहरु चुनावमा भाग लिएका थिए । त्यो आम निर्वाचनमा नेपाली काँग्रेसले ७४ सिटमा बिजय प्राप्त गरी बहुमत प्राप्त गर्यो र नेपालको इतिहासमा पहिलोपटक जननिर्वाचित बहुमतको सरकार बन्यो । जसको पहिलो प्रधानमन्त्री वीपी कोइराला र त्यसको पहिलो सभामूख बने कृष्णप्रसाद कोइराला तर यो सरकार पनि अल्पायुमै भंग भयो ।

पञ्चायती व्यवस्था लागूः

त्यसपश्चात राजा महेन्द्रले शासनको सम्पूर्ण वागडोर आफ्नो हातमा लिएर विस २०१७ पौष २२ गते पञ्चायती व्यवस्था लागू गर्नुका साथै बहुदलिय प्रणालिलाई वन्देज लगाए । यो व्यवस्था नेपालमा लगभग ३० वर्ष सम्म रहयो । यसरी नेपालमा २०१७ आएको हो ।

 

गिरिजाले आखिर किन बहुमतको सरकार भंग गरे त ?

२०१७ किन आएको हो त भन्ने प्रश्न सोध्ने हो भने यहि पार्टीबीचको अन्तर कलह, वैमनस्यता, खिचातानि, असमझदारी, कोहि कसैको नेतृत्वमा बस्न नचाहने, आदि इत्यादि कारणले कुनै पनि पार्टिले लामो समय सम्म स्थिर सरकार चलाउन नसकेको देखिन्छ । ३० वर्षे पञ्चायतीकाल खण्ड पछि देशमा लोकप्रिय राजा विरेन्द्र विरविक्रम शाहको पालामा विस २०४७ सालमा फेरि क्रान्ति हुन्छ । नेपालमा प्रजातन्त्र आउछ । फेरि बहुदलिय प्रणालीको स्थापना हुन्छ । यसपालि पनि जनताले नेपाली काँग्रेस पार्टिलाई विश्वास गर्छ र बहुमतको आधारमा नेपाली काँग्रेस दलले सरकार बनाउन सफल हुन्छ । सरकार चलाउने नेतृत्व गिरिजाप्रसाद कोइरालाले पाउनु हुन्छ तर पुनः खिचातानी, आपसी मनोमानी, मनमुटाव बढेको हुनाले जनताले बहुमत दिएर बनाएको सरकारलाई गिरिजाप्रसाद कोइरालाले स्वयः मन्त्रिमण्डल भंग गर्छन् ।

Girija Pd. Koirala

  • Lt. Girija Prasad Koirala (Source: Internet)

माओवादीको जन्म कसरी ?

देश फेरि चुनावमा जान्छ तर यसपालि सरकार बहुमतले बन्न सक्दैन । परिणाम स्वरुप देश मिस्रित दलहरुबाट आएका स्वार्थि नेताहरुको चंगुलमा बन्धक बन्न पुग्छ, भ्रष्टाचार, तानाशाह, नातावाद कृपावाद, अस्थिरता, सतालोलुपता, कुर्सिको लडाइ, सरकार ढाल्ने खेल, आदि जस्ता कुराहरु बाट ग्रसित भएर देश सिकिस्त बिरामी बन्न पुग्छ । देशको विकास गति मन्द हुन्छ । एकातिर देशमा बेरोजगारी, भ्रष्टाचार, महंगाइ, नातावाद–कृपावाद, दलहरुबीच अविश्वास बढ्छ भने अर्कोतिर शान्ती सुव्यवस्था, अमनचयन, शान्त वातावरण आदि विस्तारै खस्कदैजान्छ । नेताहरु भ्रष्टाचारमा लोलुप हुन्छन् । सत्ता प्राप्तीका लागि घृणित खेल शुरु हुन्छ । कुर्सिका लागि मात्र राजनीति गर्ने प्रविति हावि हुन्छ । परिणामस्वरुप विस २०५२ साल फाल्गुन १ गते देशमा एउटा नयाँ शक्तिको रुपमा माओवादीको जन्म हुन्छ, जुन भुमिगत भई आफ्नो शक्ति विस्तार गर्नतिर लाग्छ । ठूलो शक्ति प्राप्ति पछि देशमा आमूल परिवर्तन ल्याउने सपना फेरि नेपालीहरुलाई देखाइन्छ । विस २०५८ साल जेठ १९ गते राजपरिवारको हत्याकाण्ड हुन्छ र राजा विरेन्द्र शाहका परिवारको विनाश हुन्छ ।

यसरी राजपरिवारको हत्याकाण्ड पछि तत्कालिन राजा ज्ञानेन्द्र शाहले थोरै समयको लागि देशको वागडोर सम्हाल्ने मौका पाए पनि विस २०६२–०६३ को ठूलो जनआन्दोलन पछि विस्तारै देशबाट राजतन्त्र समाप्त भयो र देशको सम्पूर्ण वागडोर नेताहरुकै हातमा पर्यो । देशले नयाँ संविधान प्राप्त गर्यो । संविधानमा भएका असंतुष्टिका र विभिन्न माग लिएर देशमा फेरि ठूलो मधेश आन्दोलन भए । थुप्रै मधेश केन्द्रित पार्टिहरु तथा नेताहरुको जन्म भयो । केही मधेशी नेताहरु मन्त्री पनि बने । धेरै कामहरु गर्ने मौका पनि नपाएका होइनन् तर मधेशको मुद्दा र विकास जहाँको त्यहि रहयो । आन्दोलनको फलस्वरुप जनताले फेरि धोका पाए । यसैबीच धेरै मधेश केन्द्रित नेताहरु मालामाल भए । जनताले केही नपाए पनि नेताहरुको जीवनशैलिमा रातारात परिवर्तन आयो । सत्तामा बसेर नेताहरु देशविदेश भ्रमण गर्दै रजाई गरे तर मधेश र मधेशी जनता जहाँको त्यहि रहे ।

कम्यूनिष्टको बहुमतीय सरकारमा निराश जनताः

देशमा फेरि चुनाव भयो र कम्यूनिष्ट पार्टिको नेतृत्वमा पाँच वर्ष सम्म कसैले ढाल्न नसक्ने मजबुत दुई तिहाईको सरकार बन्यो । यसैसँग जनताको अपेक्षा र सपनाको सिमा रहेन किनकी यो एउटा एतिहासिक जित थियो । अब विकासका गतिलाई रोक्ने वा छेक्ने कोहि थिएन । बाटोमा कुनै बाधा अड्चन थिएन । दिनहरु बित्दै गए तर नेपाली जनताहरुले विश्वास गरेर बहुमतिय प्रणालिले बनाएको पूर्ण सरकारले जनअपेक्षा अनुरुप जनताको जीवनशैलीमा केहि परिवर्तन ल्याउने काम गरेन ।

आपसि कलह, समस्या र विसंगति जस्ताको त्यस्तै रहयो । जनताहरु निराश बन्दै गएका छन् । स्वार्थि नेताहरुबीच भ्रष्टाचारको नांगो नाच देखेर जन आक्रोशको सिमा नाघेको छ । सबै क्षेत्रहरुलाई विकासको तराजुमा मापन गर्दा वर्तमान अवस्था कहालिलाग्दो छ । तर जनताहरु नेताहरुको सत्ता र भत्ताका लागि गरिएको निर्लजता तथा मानविय सम्वेदना विपरित कुकर्म गरिरहेको क्रियाकलापहरुलाई रगतका आशुहरु चुहाउँदै टुलुटुलु हेरी बस्नुबाहेक केही गर्न सक्या छैनन् । तर पनि एकदिन चमत्कार होला भनी एउटा राम्रो सुनौलो विहानको कल्पनामा सम्पूर्ण नेपालीहरु पर्खिबसेका छन् ।

देशमा ठूलाठूला आन्दोनल भयो । सत्ता परिवर्तन भयो । सत्ता सञ्चालन गर्ने व्यक्तिहरु परिवर्तन भए तर दरिद्र नेताहरुको कुंठित सोचमा कहिल्यै परिवर्तन आएन । सबै नेपाली नेताहरुको एउटै सोच रह्यो कि कसरी सत्तामा पुगु र विलासि जीवनशैली बनाउ । साथै आफ्नो शक्तिको दुरुपयोग गर्दै सम्पूर्ण खानदानलाई ७ पुस्तासम्म पुग्नेगरी पुँजी जम्मा गर्न मौका मिलोस् ।

प्रचण्डको जनयुद्धको खुनी खेलः

यसको एउटा सानो उदाहरण हेर्न सकिन्छ कि कस्तो गरिब परिवारको पृष्ठभूमिबाट आएका पुष्पकमल दाहाल ‘प्रचण्ड’ को जीवनशैली आज कुनै ठूलो पुँजीपतिको भन्दा कुनै इन्चमा पनि कमि छैन् । उनका परिवारका हैकमवाद हेर्नुस् । सर्वहाराको नाममा राजनीति गरेर आएका सामन्तवाद र दालालवाद, भष्ट्राचारवाद, नातावाद र कृपावाद विरुद्धको लडाइबाट आएका, जुन लडाइका लागि अवोध बालवालिका देखि लाचार नेपालीहरुलाई झुठो सपना देखाउदै जनयुद्धको आगोमा धकेलेर १७ हजार बढीलाई शहिद बनाए, आस्रित परिवारलाई टुहुरो बनाए र त्यस्तो खुनको होली खेलेर आज फेरि त्यहि सत्ताको भवरीमा रमाएर बसेका छन् । सत्ता प्राप्ति नै उनको अन्तिम लक्ष्य थियो भने यो खुनी खेल आखिरमा किन र कसको लागि ? संसारभरीका तानाशाहको अन्त्य कसरी भयो ?
स्वार्थि नेताहरु हो, धिक्कार छ तिमीहरुलाई । झुठो आशा र सपना देखाएर सोझा नेपाली जनताहरुलाई पटकपटक बलिको बोको बनायौ । शायद तिमीहरुले पढेका होलाउ, सुनेका होलाउ । याद गर । आज तिमीहरुकै काला करतुतले गर्दा देश सञ्चालन विदेशीको इशारामा हिडेका केही व्यापारीहरुको हातमा गएको छ । तिमीहरुकै कुर्सिका लागि घृणित नांगो नाच देखाउदै गरेको खिचातानि र असक्षमताले गर्दा विदेशीहरुले नेपाली भूमि मिच्न दुस्साहस गर्नुका साथै नेपाल प्रहरीलाई समेत सिंहदरवारमा पिट्नु जस्ता लाजमर्दो काम शुरु गरिसकेका छन् ।
उच्च पदमा बसेर पनि जनअपेक्षा अनुरुप काम गर्न नसकेका तिमीहरुको यस्ता लुछाचुडी, स्वार्थि, घृणित, जगहसाइ क्रियाकलाप देखेर राजा महेन्द्रले २०१७ साल ल्याएकोमा के गलत थियो र ? अझै आफ्नो आचरण सुधार नगर्ने हो भने भोलि के हुन्छ कसैलाई थाहा छैन ।

अबको नेपालको राजनीतिमा के कस्तो हुनुपर्छ कृपया तल कमेन्टमा सल्लाह र सुझाव पाउँ ।

– शुशिल भट्टराई, बीरगञ्ज, नेपाल

राजनीति तथा समाज सुधारको क्षेत्रमा स्वतन्त्र मन्तव्य लेखक शुशिल भट्टराई ठाकुरराम बहुमुखी क्याम्पस, बीरगञ्जका प्राध्यापक पनि हुनुहुन्छ ।

RSS280
Follow by Email220
Facebook1k
Twitter570
LinkedIn268
LinkedIn
Share
WhatsApp733